post-slider post-slider

भारतको प्रतिबन्धपछि चिनियाँ प्याज ल्याउने प्रयास,कति सम्भव?

Image
A A

काठमाडौं- नेपाली बजारमा प्याजको अभाव देखिएको बेला नेपाली आयातकर्ताहरूले चीनबाट प्जाज ल्याउन लागिएको व्यवसायीहरूले बताएका छन्।

यद्यपि उनीहरूले लागत कम पर्ने भएकाले भारतबाटै प्याज ल्याउन वातावरण बनाउन कूटनीतिक पहलका लागि सरकारलाई आग्रह गरेका छन्।

भारतले सन् २०२४ को मार्च अन्तिमसम्मका लागि प्याज निर्यातमा प्रतिबन्ध लगाउने निर्णय गरेको छ।

भारतको प्रतिबन्धपछि नेपाली बजारमा प्याजको चरम अभाव भएको व्यवसायीहरूको भनाइ छ।

बजारमा सहजै उपलब्ध नभएका कारण देखाउँदै काठमाडौंसहित देशका विभिन्न भागमा व्यापारीहरूले प्याजको भाउ बढाएका छन्।

काठमाडौंका उपभोक्ताहरूका अनुसार यतिबेला प्याज प्रतिकिलो १८० देखि २ सय रूपैयाँसम्म किन्नु परिरहेको छ।

सरकारले आलु र प्याजमा मूल्य अभिवृद्धि कर (भ्याट) लगाएको विरोधमा व्यापारीहरूले कारोबार बन्द गरेपछि केही दिन नेपालमा दुवै वस्तुको अभाव देखिनुका साथै मूल्यवृद्धि पनि भएको थियो।

तर, सरकारले स्वदेशी आलु र प्याजमा भ्याट नलाग्ने स्पष्ट पारेपछि अहिले आलुको आपूर्ति सहज हुँदै गएको व्यापारीहरू बताउँछन्।

भारतबाट प्याज ल्याउन नकिसने अवस्था भएपछि चीनबाट आयात गर्न पहल सुरू गरिएको व्यवसायीहरूले बताएका छन्।

नेपाल कृषि उपज, आलु प्याज आयात–निर्यात तथा थोक विक्रेता संघका महासचिव प्रकाश गजुरेल केही लहसुन तथा स्याउ ल्याउने व्यवसायीहरूले चीनबाट प्याज ल्याउन लागेको भन्ने खबर आएको बताए।

आफूहरू पनि चीनबाट प्याज ल्याउने कोसिस गरिरहेको उनले बताए।

यद्यपि उनले व्यवसायीहरूले भारतबाटै आयात गर्ने वातावरण बनाउन सरकारलाई आग्रह गरेको बताए।

उनले नेपालमा रहेको आलुको मागमध्ये ६० देखि ७० प्रतिशतसम्म स्वदेशी उत्पादनले धान्ने महासचिव गजुरेलले जानकारी दिए।

उनका अनुसार प्याजका लागि भने नेपाल लगभग भारतमै निर्भर हुने गरेको छ।

भारतमा कडाइ गरिएका बेला कहिलेकाहीँ चिनियाँ प्याज आउने गरेको छ।

यद्यपि चिनियाँ प्याज ठूलो हुने तथा त्यसको स्वाद नेपालीहरूले खासै मन नपराउने व्यवसायीहरू बताउँछन्। गजुरेलका अनुसार काडमाडौं उपत्यकाभित्र मात्र दैनिक करिब ५० देखि ७० टन प्याज र १०० टनको हाराहारीमा आलु बिक्री हुन्छ।

उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री रमेश रिजालले प्याजको सन्दर्भमा भारतले अहिले लिएको नीतिमा परिवर्तन गर्ने सम्भावना तत्काल नदेखिएकाल आन्तरिक रूपमा नै उपलब्ध भएकोबाट खपत गर्नुपर्ने अवस्था रहको बताएका छन्।

यद्यपि प्याज निर्यातका लागि सरकारले भारतसँग कूटनीतिक पहल गर्न तयार रहेको उनले जानकारी दिएका छन्।

व्यवसायीहरू भने सरकारले कूटनीतिक पहल नगरे पनि भारतबाट तस्करी भएर केही मात्रामा प्याज नेपाल भित्रिरहेको बताउँछन्।

 

Tags: