post-slider post-slider

बससँग ट्रक ठोक्किँदा सप्तकोसीमा खस्यो, तीन जनाको उद्धार

Image
A A

विराटनगर- आज बिहान ट्रक र बस ठोक्किएर दुर्घटना भएको छ। सुनसरी र सप्तरीको सिमानामा पर्ने कोसी ब्यारेजको पुलमा पश्चिमबाट पूर्वतर्फ आउँदै गरेको मे १ ख ३००७ नम्बरको ट्रक र पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको मे १ ख १७६५ नम्बरको बस बिहान ७:४० बजेतिर ठोक्किएर दुर्घटना भएको हो।

यात्रु लिएर काँकडभिट्टाबाट सोलुखुम्बुतर्फ जाँदै गरेको बससँग ठोक्किएर ट्रक सप्तकोसी नदीमा खसेको छ। पुलबाट खसेको ट्रकलाई सप्तकोसीले बगाएको अनुमान गरिएको छ। 

ट्रकलाई नदीले बगाएर तलसम्म लगेको देखिए पनि अहिले देखिन छाडेको प्रहरीले जनाएको छ। सुनसरी प्रहरीका प्रवक्ता डीएसपी राजकुमार राईका अनुसार ट्रक र बस ठोक्किएर दुर्घटना हुँदा कोसी ब्यारेजको १० नम्बर ढोकाको बार भत्किएको छ। बार भत्किएकै ठाउँबाट ट्रक नदीमा खसेको प्रहरीको भनाइ छ।

सप्तकोसीमा खसेको ट्रकमा सवार रहेका तीन जनाको सकुशल उद्धार गरिएको राईले बताए। ट्रक सप्तकोसीमा खस्नसाथ पुगेको प्रहरी टोलीले डोरी टाँगेर ट्रकमा सवार रहेकाहरुको उद्धार गरेको हो। उद्धार गरिएकामध्ये ट्रकका चालक २४ वर्षीय दिनेश खत्री सामान्य घाइते भएका छन्। उनलाई उपचारका लागि पठाइएको छ। अन्य दुई जनाको अवस्था सामान्य रहेको डीएसपी राईले बताए। 

बसका सवार रहेकाहरु भने सकुशल छन्। दुर्घटनामा परेको बसलाई कोसी ब्यारेजको पुलबाट बाहिर निकालिएको छ।

Tags: