post-slider post-slider

कोसी सरकारविरूद्ध एमाले फेरि अदालत जाने

Image
A A

काठमाडौं- कोसी सरकारविरूद्ध नेकपा एमाले फेरि अदालत जाने भएको छ।

मुख्यमन्त्री उद्धव थापाले संविधानविपरित विश्वासको मत लिएको भन्दै एमाले बदरको मागसहित सर्वोच्च अदालत जान लागेको हो।

एमाले कोसी प्रदेस संसदीय दलका नेता हिक्मतकुमार कार्कीले प्रदेस नियमावली र संविधानका धारालाई छलेर थापाले जबरजस्ती विश्वासको मत पाएको घोषणा गरिएकोले अदालत जाने तयारीमा रहेको बताए।

प्रदेस संसदीय दलले विश्वासको मत लिन अपनाइएको प्रक्रियाविरूद्ध रिट दायर गर्ने निर्णय गरिसकेको उनले जानकारी दिए।

नेता कार्कीले अदालत जानुबाहेक एमालेसँग विकल्प नभएको बताए।

‘प्रदेस नियमावली र संविधानका धारा छलेर जाने ठाउँ छैन, त्यसविरूद्ध हामी कोर्ट जान्छौं। हामीसँग अर्को विकल्प छैन,’ प्रेस चौतारी कोसी प्रदेसको साधारणसभामा बोल्दै उनले भने।

सत्ता गठबन्धनबाट मुख्यमन्त्री बनेका कांग्रेस संसदीय दलका नेता थापाले सोमबार सभाध्यक्षको समेत मत पाएर विश्वासको मत लिएका थिए।

यसअघि थापालाई मुख्यमन्त्री नियुक्त गर्ने प्रक्रियामा सभामुख बाबुराम गौतमसमेत सहभागी हुँदा एमाले संसदीय दलका नेता कार्की सर्वोच्च पुगेका थिए।

सर्वोच्च अदालतले सभामुखसमेत सहभागी भएर मुख्यमन्त्री बनाउने प्रक्रियालाई असंवैधानिक ठहर गरेर पुनः सरकार गठनका लागि आह्वान गर्न आदेश दिएको थियो।

सर्वोच्चको आदेशपछि सभामुख पदबाट राजीनामा दिएका गौतमसमेतको समर्थनमा थापा मुख्यमन्त्री नियुक्त भएका थिए।

थापाले विश्वासको मत लिन सोमबार बोलाइएको प्रदेससभा बैठकमा उपसभामुख अनुपस्थित भएपछि ज्येष्ठ सदस्य कांग्रेसका इसराइल मन्सुरीले सभाको अध्यक्षता गरेका थिए।

मन्सुरीले केहीबेरका लागि प्रदेस सांसद गीता तिमल्सिनालाई अध्यक्षता गर्न लगाएर मुख्यमन्त्री थापाले पेस गरेको विश्वासको मतको पक्षमा मतदान गरे।

मतदानपछि फेरि बैठकको अध्यक्षता गरेका मन्सुरीले विश्वासको मतको परिणाम घोषणा गरेका थिए।

 

Tags: