post-slider post-slider

झलनाथ खानलको सर्प पाल्ने प्रतिष्ठानमा भ्रष्टाचार, मधेसका पूर्वमन्त्रीसहित ७ जनाविरूद्ध भ्रष्टाचार मुद्दा

Image
A A

काठमाडौं-  मधेस प्रदेसका तत्कालीन आर्थिक मामिला तथा योजनामन्त्री विजयकुमार यादवविरूद्ध भ्रष्टाचार मुद्दा दर्ता भएको छ। 

सर्लाहीको लालबन्दी नगरपालिकास्थित झलनाथ खनाल स्वास्थ्य विज्ञान प्रतिष्ठानको स्थापना, व्यवस्थापन र सञ्चालन गर्ने कार्यमा अनियमितता गरेको आरोपमा यादवविरूद्ध भ्रष्टाचार मुद्दा दर्ता भएको हो।

अख्तियार दुरूपयोग अनुसन्धान आयोगले तत्कालीन आर्थिक मामिलामन्त्री यादव र लालबन्दी नगरपालिकाका तत्कालीन नगर प्रमुख बहादुर खड्कसहित ७ जनाविरूद्ध विशेष अदालत काठमाडौंमा भ्रष्टाचार मुद्दा दर्ता गरेको हो।

तत्कालीनमन्त्री यादव र नगरप्रमुख खड्काले आफूलाई नभएको अधिकार प्रयोग गरी कानुनविपरित झलनाथ खनाल स्वास्थ्य विज्ञान प्रतिष्ठान नेपाल नामक गैरसरकारी संस्था÷कम्पनीलाई सरकारी रकम उपलब्ध गराई अनियमितता गरेको अख्तियारले ठहर गरेको छ।

प्रतिष्ठानका अध्यक्ष रेवतीप्रसाद पन्तसँग त्रिपक्षीय समझदारीपत्रमा हस्ताक्षर गरी आर्थिक मामिला तथा योजना मन्त्रालयबाट प्रतिष्ठानलाई बदनियतपूर्वक १७ करोड ९८ लाख ३३ हजार रूपैयाँ उपलब्ध गराइएको अख्तियारले जनाएको छ।

सम्झौताअनुसार मन्त्रालयबाट रकम निकासा भइ सम्पूर्ण रकम खर्च भइसक्दासमेत योजनाको उद्देश्य प्राप्तितर्फ शून्य प्रगति देखिएको अख्तियारको अनुसन्धानबाट खुलेको छ।

नेपाल सरकार र प्रदेस सरकारको लागत सहभागिताका आधारमा प्रदेस सरकारबाट विनियोजित र संघीय सरकारबाट समेत प्राप्त समपूरक अनुदान रकम सर्पको विष संकलन, प्रशोधन र उत्पादन केन्द्र स्थापनाका निम्ति भौतिक संरचना निर्माणका लागि लेखा उत्तरदायी अधिकृतले कार्यान्वयन गर्ने अख्तियार प्रदान भइसकेको अवस्थामा तत्कालीनमन्त्री यादव र नगरप्रमुख खड्काले अधिकारविपरित प्रतिष्ठानलाई रकम उपलब्ध गराएको अख्तियारको भनाइ छ।

त्यस्तै स्वीकृत नभएका विषयमा समेत सरकारी रकम खर्च गरिएको अख्तियारको ठहर छ।

अख्तियारले तत्कालीनमन्त्री यादव र नगरप्रमुख खड्काविरूद्ध भ्रष्टाचार मुद्दा दायर गर्दै १७ करोड ९८ लाख ३३ हजार असुल गरी कैद तथा जरीवानाको मागदाबी गरेको छ।

यो प्रकरणमा अख्तियारले तत्कालीनमन्त्री यादव र नगरप्रमुख खड्का साथै आर्थिक मामिला तथा योजना मन्त्रालयका तत्कालीन सचिव प्रेमकुमार श्रेष्ठ, झलनाथ खनालका स्वास्थ्य विज्ञान प्रतिष्ठान सञ्चालक समितिका अध्यक्ष पन्तसहित महासचिव नवराज भण्डारी, कोषाध्यक्ष निरज भण्डारी र सदस्य देवेन्द्र रायविरूद्ध पनि भ्रष्टाचार मुद्दा दायर गरेको छ।

 

Tags: