नेपाल र भारतका अर्थमन्त्रीबीच भेट, आपसी हितका आर्थिक क्षेत्रमा सम्बन्ध विस्तार रिनेमा जोड
गुजरात- भारतको गुजरातमा भइरहेको जी२० अर्थमन्त्रीहरूको बैठकको अवसरमा अर्थमन्त्री डा. प्रकाशशरण महत र भारतीय अर्थमन्त्री निर्मला सितारामणबीच द्विपक्षीय साइडलाइन बैठक सम्पन्न भएको छ। बैठकमा आपसी सहयोग र द्विपक्षीय सम्बन्धका बारेमा छलफल भएको छ।
नेपालमा सञ्चालित विकास परियोजना कार्यान्वयनमा देखिएका समस्या समाधान गरी समयमै सम्पन्न गर्न दुबै अर्थमन्त्रीले जोड दिएका थिए।
अर्थमन्त्री महतले नेपालका प्रधानमन्त्रीको भारत भ्रणको क्रममा सम्पन्न विद्युत निर्यात सम्बन्धी समझदारी कार्यान्वयनबाट आगामी १० वर्षमा १० हजार मेघावाट जल विद्युत भारत निकासी भई व्यापार घाटा घटाउन मद्दत मिल्ने विषय उल्लेख गरेका थिए।
दुई देशवीचको ब्यापार तथा लगानी सहजीकरणको लागि मिलेर काम गर्ने विषयमा एउटै मत रहेको थियो।
भारतका अर्थमन्त्रीले भारतको इन्टरनेशनल पेमेन्ट लिमिटेड र नेपालको एनसिएचएल बीच भएको समझदारी बमोजिम संयुक्त विद्युतीय भुक्तानी संयन्त्र कार्यान्वयन गर्न छिटो काम अघि बढाउन अनुरोध गरेका थिए। अर्थमन्त्री महतले छिट्टै कार्यान्वयनमा लैजाने गरी संयन्त्र स्थापना गर्न काम गर्ने बताएका थिए।
भेटवार्ताका अवसरमा नेपालको सूचना प्रविधि क्षेत्रमा भारतीय लगानीको लागि राम्रो विकल्प रहेको र व्यवसायिक संभाव्यता एवं पर्याप्त जनशक्ति उपलब्ध भएकोले सो क्षेत्रमा लगानी बढाउन समेत अनुरोध गरेका थिए।
आपसी हितका आर्थिक क्षेत्रमा आगामी दिनमा सम्बन्ध विस्तार गर्दै जानु पर्नेमा दुबै देशका अर्थमन्त्रीले जोड दिएका थिए।