नेपाल सुन तस्करीको ‘ट्रान्जिट प्वाइन्ट’ : अर्थतन्त्रमा कस्तो असर?
काठमाडौं- पछिल्लो केही महिनायता सीमा क्षेत्रमा मानिसहरूले स्थायी विनिमिय दरभन्दा कममा भारतीय रूपैयाँ सटही गरिरहेको समाचारहरू सार्वजनिक भएका थिए।
नेपाली–भारूको स्थायी सटही दर १६० रूपैयाँ छ। अर्थात एक सय भारू खरिद गर्न सर्वसाधारणले १६० नेपाली रूपैयाँ तिर्नुपर्ने हुन्छ। तर, पछिल्लो समय १५० को दरले भारू सटही गर्ने गरिरहेका थिए।
जानकारहरू व्यवहारिक रूपमा सटही दरमा आएको यो कमीलाई सुन तस्करीसँग जोडेर हेर्ने गरेका छन्।
बितेको सात–आठ महिनायता नेपाल–भारत सीमा क्षेत्रमा अनौपचारिक रूपमा कारोबारीहरूले १५० नेपाली रूपैयाँको बदला १ सय भारू दिन थालेका र नेरू नै लिन रूचाउन थालेका खबरहरू आएका थिए।
जानकारहरूका अनुसार त्यसो हुनुपछाडि ती कारोबारीसँग अवैध आर्जन गरिएको भारू प्रशस्त भएको र त्यसको एउटा प्रमुख स्रोत सुन तस्करी हुनसक्ने अनुमान गरिएको छ।
नेपालमा अहिले सुनको वैध आयात केवल बैंकहरूले मात्र गर्न पाउँछन्। त्यसका लागि पनि दैनिक १० किलोग्रामको सीमा तोकिएको छ। यसअघि यो सीमा २५ किलोग्राम रहेको थियो।
उच्च मूल्यका कारण देशभित्र नै सुनको खपत अहिले शिथिल अवस्थामा पुगिसकेको व्यवसायीहरू बताउँछन्। उनीहरूका अनुसार यतिबेला नेपाली बजारमा सुनको कारोबार ओरालो लागेको छ।
बिहीबार नेपालमा सुनको मूल्यले कीर्तिमान भङ्ग गरेर प्रतितोला १ लाख १३ हजार ६ सय रूपैयाँ पुग्यो।
नेपाल सुनचाँदी व्यवसायी महासंघका प्रवक्ता मनोजकुमार साहका अनुसार सुनको मूल्य यतिबेला नेपाल र भारतमा लगभग बराबर छ।
दुवै मुलुकमा सुनको मूल्य मिलान गर्न नेपालमा भन्सार दर बढाइएको उनको भनाइ छ।
तर, राजस्व छलेर ल्याइएका सुन भारतमा तस्करी गर्दा वास्तविकभन्दा सस्तो मूल्यमा बिक्री गर्ने गरिएको हुनसक्ने साहको अनुमान छ।
‘नेपाल र भारतमा सुनको मूल्य लगभग बराबर छ। तर, राजस्व छलेर ल्याउँदा तस्करीमा संलग्नहरूले वास्तविकभन्दा कम मूल्यमा बिक्री गर्ने गरेको हुनसक्छ,’ उनी भन्छन्।
नेपाल र भारतमा सुनको मूल्य समान भए पनि अरू सबै मुलुकमा सस्तो रहेको उनले बताएका छन्।
एक तोलामै त्यति धेरै फाइदा हुने भएपछि तस्करहरूले विभिन्न सेटिङ मिलाएर नाफा बाँड्नेगरी सुन भित्र्याउने गरेको उनको भनाइ छ।
दुबईमा भन्दा नेपालमा सुन प्रतितोला १७ हजार रूपैयाँले महँगो पर्ने गरेको छ। यसरी तस्करी गर्दा सुन ल्याउँदा भन्सारलाई तिर्नुपर्ने शुल्क पनि छलिन्छ।
नेपाल र भारतमा सुनको मुल्य बराबर भएका बेला उतैबाट आयात नगरी यताबाट अवैध तस्करी गराउनु भनेको स्रोत देखाउन नमिल्ने पैसा भएकाहरूले गरेको कारोबार हुनसक्ने जानकारहरू ठान्छन्।
अवैध सुन आयातले देशको अर्थतन्त्रमा माथिदेखि तलसम्म श्रृंखलाबद्ध विचलन ल्याउने जानकारहरू बताउँछन्।
अहिले प्रत्येक एक किलो सुनमा भन्सार शुल्कमात्र १२ लाख ४० हजार रूपैया तिर्नुपर्ने प्रवक्ता साह बताउँछन्।
एक सय किलो सुन अवैध तरिकाले भित्र्याउँदा १२ करोडभन्दा बढीको भन्सार नोक्सानी हुन्छ भने त्यस्ता अवैध सुन नेपालभित्रै खपत गर्ने हो भने पनि स्रोत देखाउन नसक्दा वैध बजारमा कारोबार हुन पाउँदैन।
‘वैध बजारमा त्यस्ता सुनले कागजात देखाउन सक्दैनन्। ती अवैध रूपले किनबेच हुन्छन् र कालो धन फैलन्छ। त्यसमा न कसैले आयकर तिर्छ न अन्य कर तिर्छ। सबैतिर छली गरेर कालो धन थुप्रिन्छ,’ साह भन्छन्।
‘विदेशी मुद्राको सञ्चितीका लागि नेपाल राष्ट्र बैंकले कमर्सियल बैंकमार्फत व्यवसायीलाई प्रतिदिन २५ किलोग्राम सुन उपलब्ध गराउने गरेको थियो। विदेशी मुद्राको सञ्चिती कम भएकाले अहिले दैनिक १० किलोग्राम कोटा तोकिएको छ,’ प्रवक्ता साह भन्छन्,‘सुन तस्करीका कारण विदेशी मुद्राको सञ्चितीमा प्रभाव पर्ने नै भयो यसका साथै सरकारले प्राप्त गर्ने राजस्व पनि गुम्ने भयो।’
उनका अनुसार गत आर्थिक वर्षमा प्रतिकिलो सुनको भन्सार ८ हजार रूपैयाँ रहेकोमा अहिले १२ लाख ४० हजार पुगेको छ।
भन्सार वृद्धि हुँदा तस्करी झनै मौलाएको उनको भनाइ छ। साह भन्छन्,‘पहिले एक किलो सुन तस्करी गर्दा ८ लाख राजस्व जोगिन्थ्यो भने अहिले १२ लाख ४० हजार जोगिने भयो। तर, सरकारलाई राजस्वमा घाटा भयो।’
सुन तस्करीका लागि नेपाल ‘ट्रान्जिट प्वाइन्ट’ बन्दै गइरहेको व्यवसायीहरूको बुझाइ छ। सय किलो सुन नेपाली बजारमा खपत हुन नसक्ने भएकाले भारतमा तस्करी गर्ने उद्देश्यले भित्र्याइएको हुनसक्ने उनीहरूको भनाइ छ।
सुन तस्करीजस्ता क्रियाकलापका कारण नेपालका सुनचाँदी व्यवसायीहरूलाई बदनामीको समस्या झेल्नु परिरहेको प्रवक्ता साहले बताए।
‘विदेशी मुद्रा सञ्चित गरेर व्यवसायीले सुनको तस्करी गर्नु असम्भव छ। आन्तरिक बजारमा सुनको माग पनि कम छ। यस्ता घटनामा संलग्नता नभए पनि सुनचाँदी व्यवसायीहरू बदनाम हुनुपरिरहेको छ,’ उनले भने।
सुन तस्करीको अर्को डरलाग्दो पाटो भनेको यसले देशको समष्टिगत आर्थिक स्वास्थ्य अनि अर्थराजनीतिमात्र बिगार्नुका साथै द्विपक्षीय सम्बन्ध तथा अन्तर्राष्ट्रिय समुदायमाझ नेपालको साखसमेत गिराउने गरेको छ।
जानकारहरूका अनुसार सुन तस्करीका लागि हुन्डीको अर्थतन्त्रले काम गरिरहेको छ। किनभने तोकिएको कोटाअनुसार बैंकमार्फत बाहेक एलसी खोलेर कसैलाई पनि सुन ल्याउन कानुनले अनुमति दिँदैन।
अवैध तरिकाबाट ल्याइएका सुनका निम्ति विदेशी मुद्रा तिर्नुपर्ने र यस्तो कारोबार हुन्डीमार्फत भएको हुनसक्ने जानकारहरू बताउँछन्।