मिटरब्याजसम्बन्धी विधेयक सर्वसम्मतले पारित
काठमाडौं- मिटरब्याजसम्बन्धी विधेयक प्रतिनिधिसभाबाट सर्वसम्मतले पारित भएको छ।
मिटरब्याज समस्यालाई सम्बोधन गर्ने गरी सरकारले ल्याएको मुलुकी संहिता संशोधन विधेयक आइतबार प्रतिनिधिसभा बैठकबाट सर्वसम्मतले पारित भएको हो।
मिटरब्याजसम्बन्धी कानुनी व्यवस्था गर्न सरकारले अध्यादेश ल्याएको थियो। अध्यादेशलाई प्रतिस्थापन गर्नका लागि ल्याइएको विधेयक २० असारमा पारित गर्नुपर्नेमा संसद अवरोधका कारण संसदले काम गर्न सकेको थिएन।
त्यसपछि अध्यादेश स्वतः निष्क्रिय भएको थियो।
अध्यादेश निष्क्रिय भएपछि सरकारले मिटरब्याजसम्बन्धी कानुन निर्माण गर्न विधेयक ल्याएको थियो।
विधेयक पारित भएपछि उपप्रधान एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठले मिटरब्याज पीडितलाई न्याय दिलाउने अभियानलाई सफल पार्न बलियो आधार तय भएको बताएका छन्।
‘यो ऐन निर्माणले मिटरब्याज पीडितलाई न्याय दिलाउने अभियानलाई सफल पार्न बलियो आधार प्रदान गर्नेछ। यद्यपि यस सन्दर्भमा अझै सचेततापूर्वक मिहिनेत गर्नु जरुरी छ,’ श्रेष्ठले भनेका छन्।
अनुचित लेनदेन (मिटरब्याज) सम्बन्धी विधेयक पारित भइसकेपछि सामन्ती शोषणको अवशेष अन्त्य गर्ने बाटो खुलेको उनको भनाइ छ।