युक्रेनी युद्धबन्दी बोकेको रूसी जहाज दुर्घटना, कम्तिमा ६५ जनाको मृत्यु
काठमाडौं- रूसको युक्रेनसँग सीमा जोडिएको दक्षिणी बेल्ग्रड क्षेत्रमा एउटा जहाज दुर्घटनामा परेको छ।
मस्कोले जनाएअनुसार रूसी इल्ययुसिन–७६ सैन्य ढुवानी जहाज दुर्घटनामा परेको हो।
रूसी रक्षा मन्त्रालयका अनुसार दुर्घटनामा कम्तीमा ६५ जना युक्रेनी युद्धबन्दीहरू मारिएका छन्।
उनीहरूलाई बन्दी आदानप्रदानका लागि बेल्ग्रड क्षेत्रतर्फ लाने क्रममा विमान दुर्घटना भएको रूसी रक्षा मन्त्रालयको भनाइ छ।
रिया नोभोस्ती न्युज एजेन्सीका अनुसार जहाजमा ६ जना चालक दलका सदस्यसहित युक्रेनी युद्धबन्दीबाहेक अन्य ९ जना सवार थिए।
बेल्ग्रडका क्षेत्रीय गभर्नर भ्याचिस्लाभ ग्लाडकोभले बस्ती नजिकै उक्त जहाज खसेको र त्यसमा रहेका सबै जना मारिएको बताएका छन्।
जहाजमा रहेका व्यक्तिबारेका कुनै पनि विवरणहरूको स्वतन्त्र रूपमा पुष्टि गर्न सकिएको छैन।
युक्रेनी सैन्य कार्यालयलाई उद्धृत गर्दै प्राभदा वेबसाइटले लेखेअनुसार जहाजले रूसको एस–३०० हजाइ सुरक्षा प्रणालीका निम्ति क्षेप्यास्त्र ढुवानी गरिरहेको थियो।
त्यसमा युक्रेनी युद्धबन्दीहरू रहेकोबारे केही पनि उल्लेख छैन।
सामाजिक सञ्जालहरूमा साझा गरिएको भिडियोमा स्थानीय समयअनुसार ११ बजे याब्लोनोभो गाउँ नजिकै एउटा विमान खसेको र त्यसपछि विस्फोट भएको देखिन्छ।
रूसी राष्ट्रपतिका प्रवक्ता दिमित्री पेस्कोभले क्रेमलिनलाई दुर्घटनाबारे जानकारी रहेको बताए। उनले विस्तृत विवरण दिन अस्वीकार गरे।
केही युक्रेनी मिडियाले सुरूमा उक्त जहाजलाई युक्रेनी सेनाले खसालेको हुनसक्ने जनाएका थिए। तर, पछि ती विवरणहरू हटाइए।