मानव तस्करीको आरोप लागेका एमाले सांसद लीलावल्लभ अधिकारी पक्राउ
विराटनगर - कोशी प्रदेशका पूर्वआन्तरिक मामिला तथा कानुन मन्त्री लीलावल्लभ अधिकारी पक्राउ परेका छन्।
अधिकारीलाई विराटनगर मुनालपथस्थित निवासबाट आइतबार प्रहरीले पक्राउ गरेको हो।
जिल्ला प्रहरी परिसर काठमाडौंका प्रमुख एसएसपी वसन्त रजौरेका अनुसार मोरङ प्रहरीले पक्राउ गरी काठमाडौं पठाउने तयारी गरेको छ।
'उहाँलाई पक्राउ गरी काठमाडौं ल्याइँदैछ, कुन-कुन कसुर आकर्षित हुन्छ, अनुसन्धान हुन्छ,' रजौरेले भने।
अधिकारीलाई जापान मानव तस्करी गरेको आरोप लागेको थियो। उनलाई मानव तस्करीको आशंकामा जापान जाने क्रममा टोकियो विमानस्थलबाटै फिर्ता गरिएको थियो।
अधिकारीसँगै जापान गएका तीन जनालाई प्रहरीले काठमाडौं फर्किने क्रममा विमानस्थलबाट पक्राउ गरेको थियो। उनीहरूले मन्त्रालयको नक्कली कार्ड बनाएर जापान उडेको खुलासा भएको छ।
मानव तस्करीको आरोप लागेपछि शनिबार एमालेले अधिकारीलाई छानबिन गर्न माग गर्दै उनलाई पार्टीको सबै जिम्मेवारीबाट निलम्बन गरेको थियो।