post-slider post-slider

कोसीका मुख्यमन्त्री थापाले विश्वासको मत लिँदै, बैठक अध्यक्षको मत लिने रणनीति

Image
A A

काठमाडौं- कोसी प्रदेसका मुख्यमन्त्री उद्धव थापाले सोमबार नै विश्वासको मत लिने भएका छन्।

प्रदेससभा बैठक बोलाएकी उपसभामुख सिर्जना दनुवार बिरामी भएको भन्दै अनुपस्थित भएपछि बैठकको अध्यक्षताबारे अन्योल भएको थियो।

दनुवार अनुपस्थित भएपछि बैठकको अध्यक्षता कसले गर्ने भन्ने विषयमा प्रदेससभा सचिवालयले कानुनी परामर्श गरेको थियो।

उपसभामुख दनुवार अनुपस्थित भएपछि प्रदेससभाका अध्यक्षमण्डलका सदस्य इसराइल मन्सुरीले बैठक सञ्चालन गर्ने भएका छन्।

उपसभामुख दनुवार र अध्यक्षमण्डलका सदस्यद्वय एमालेकी मालती सुब्बा लिम्बु र अमरबहादुर विष्ट अनुपस्थित भएकाले मन्सुरीको अध्यक्षतामा बैठक बस्ने भएको हो।

उपसभामुख दनुवार पनि मन्सुरीलाई नै बैठक सञ्चालनको अधिकार दिएर काठमाडौं आएकी हुन्।

कार्यव्यवस्था परामर्श समितिको बैठकमा मुख्यमन्त्री थापाले सोमबार नै विश्वासको मत लिने निर्णय भएको कांग्रेसका प्रमुख सचेतक भूपेन्द्र राईले जानकारी दिए।

राईका अनुसार बैठकको अध्यक्षता गर्ने मन्सुरीले समेत गठबन्धनको पक्षमा मत हाल्नेछन्।

मन्सुरीको मतसहित आफूहरूले प्रदेससभामा बहुमत सिद्ध गर्ने उनले बताए।

 ९३ सदस्यीय प्रदेससभामा बहुमतको संख्या पु¥याउन ४७ सांसदको समर्थन आवश्यक हुन्छ। 

प्रदेससभामा कांग्रेसका २९, माओवादीका १३, एकीकृत समाजवादीका ४ र जसपाको १ गरी सत्ता गठबन्धनसँग ४७ सांसद छन्। प्रदेससभाको अध्यक्षता गर्ने मन्सुरीले समेत मत हाल्न पाए मुख्यमन्त्री थापाले विश्वासको मत प्राप्त गर्न चाहिने आवश्यक ४७ को आँकडा प्राप्त गर्नेछन्।

मत बराबरी भएको अवस्थामा सभामुखले निर्णायक मत हाल्न पाउने संविधानले व्यवस्था गरेको छ। यसअघि सभामुख रहेका बाबुराम गौतम राजीनामा गरेर मन्त्रिपरिषद सदस्य भइसकेका छन्। उनको राजीनामापछि कोसी प्रदेसमा नयाँ सभामुखका लागि चुनाव भएको छैन।

सभामुख नहुँदा उपसभामुखले बैठकको अध्यक्षता गर्ने संवैधानिक व्यवस्था छ। उपसभामुखको अनुपस्थितिमा ज्येष्ठ सदस्यले बैठकको अध्यक्षता गर्ने व्यवस्था छ।

बैठकको अध्यक्षता गर्ने ज्येष्ठ सदस्यले मुख्यमन्त्रीले विश्वासको मत लिइरहँदा मत गर्न पाउने वा नपाउने भन्ने व्यवस्था संविधानले गरेको छैन।

 

Tags: