शेखर–गगन समूह छुट्टै छलफलमा
काठमाडौं- नेपाली कांग्रेस संस्थापन इतर समूहको छुट्टै बैठक बसेको छ।
काठमाडौंको विशालनगरस्थित शेखर कोइरालाको सम्पर्क कार्यालयमा सोमबार संस्थापन इतर समूहका नेताहरूबीच छलफल भएको हो।
पार्टीका पदाधिकारी र पूर्वपदाधिकारीहरूको बैठक बस्नुअघि इतर समूहका नेताहरूले छलफल गरेका हुन्।
सभापति शेरबहादुर देउवाले सोमबार दिउँसो २ बजे पदाधिकारी र पूर्वपदाधिकारीहरूको बैठक बोलाएका छन्।
सभापति देउवाले बोलाएको बैठकमा कसरी प्रस्तुत हुने विषयमा केन्द्रित भएर छलफल भएको इतर समूहका एक नेताले जानकारी दिए।
त्यस्तै मंगलबारदेखि सुरू हुन लागेको केन्द्रीय समिति बैठकका एजेन्डाका विषयमा समेत इतर समूहका नेताहरूले छलफल गरेका छन्।
सभापति देउवाले केन्द्रीय समिति बैठकको एजेन्डा तय गर्न पदाधिकारी र पूर्वपदाधिकारीहरूको बैठक बोलाएका छन्। यो बैठकले केन्द्रीय समिति बैठकका एजेन्डा तय गर्ने नेताहरूले बताएका छन्।
पदाधिकारी र केन्द्रीय समिति बैठकमा कसरी प्रस्तुत हुने विषयमा बैठक बोलाएर इतर समूहका नेताहरूले छलफल गरेका छन्।