post-slider post-slider

क्यानाडालाई भारतको जवाफ – क्यानाडाको भूमिबाट हुने भारतविरोधी गतिविधि सह्य हुँदैन

Image
A A

काठमाडौं- क्यानाडाका प्रधानमन्त्री जस्टिन ट्रुडोले क्यानाडामा एक सिख नेताको हत्यामा भारत सरकारको भूमिका देखिएको आरोप लगाएका छन्।

गत जुन १८ मा क्यानाडाको ब्रिटिस कोलम्बियास्थित एक गुरुद्वाराबाहिर हरदीप सिंह निज्जरको गोली हानी हत्या भएको थियो।

क्यानाडाको गुप्तचर निकायले निज्जरको मृत्यु र भारतबीच एउटा ‘विश्वसनीय’ सम्बन्ध पहिचान गरेको ट्रुडोले बताए।

भारतले भने यो आरोपलाई ‘निरर्थक’ को संज्ञा दिएको छ।

‘क्यानाडाका नागरिकको क्यानाडाको भूमिमा हुने हत्यामा विदेशी सरकारको कुनैखाले संलग्नता हाम्रो सार्वभौमसत्ताको अस्वीकार्य उल्लंघन हो,’ ट्रुडोले क्यानाडाको संसद हाउस अफ कमन्समा बोल्दै भने।

उनले यो खुला र प्रजातान्त्रिक समाजले आफूलाई सञ्चालन गर्ने आधारभूत नियमविपरित कुरा भएको बताए।

भारतले भने निज्जरको हत्याको आरोपमा आफ्नो संलग्नता अस्वीकार गर्दै आएको छ।

भारतको प्रतिक्रिया र प्रत्यारोप

मंगलबार भारतको विदेश मन्त्रालयले विज्ञप्तिमार्फत ट्रुडोका दाबीहरू खन्डन गरेको छ।

क्यानाडामा भएको हिंसाको घटनामा भारत सरकारको संलग्नताबारे लगाइएका आरोपहरू ‘निरर्थक र प्रेरित’ भएको विज्ञप्तिमा भनिएको छ।

‘क्यानाडाका प्रधानमन्त्रीले संसदमा जे कुराहरू भने हामी तिनलाई अस्वीकार गर्छौं। हामी क्यानाडाका विदेशमन्त्रीको भनाइलाई पनि अस्वीकार गर्छौं,’ विदेश मन्त्रालयले भनेको छ,‘यस्ता आधारहीन आरोपहरू खालिस्तानी आतंकवादी र चरमपन्थीहरूबाट ध्यान मोड्नका लागि गरिएको हो। क्यानाडाले खालिस्तानी आतंककारी र अतिवादीहरूलाई शरण दिएको छ, जो भारतको सार्वभौमसत्ता र क्षेत्रीय अखण्डताका लागि खतरा हुन्।’

यी विषयमा क्यानाडा सरकारले लामो समयदेखि कारबाही नगर्नु आफ्ना लागि चिन्ताको विषय बनेको भारतले जनाएको छ।

‘क्यानाडाका नेताहरूले त्यस्ता तत्वहरूसँग खुलेर सहानुभूति देखाउँछन् जुन हाम्रो लागि गम्भीर चिन्ताको विषय हो,’ विज्ञप्तिमा भनिएको छ,‘क्यानाडामा हत्या, मानव बेचबिखन र संगठित अपराधजस्ता गतिविधिलाई फस्टाउन दिनु कुनै नयाँ कुरा होइन। हामी त्यस्ता गतिविधिमा भारत सरकारलाई संलग्न गराउने कुनै प्रयासलाई अस्वीकार गर्छौं।’

भारतले क्यानाडाको भूमिबाट सञ्चालन भइरहेको भारतविरोधी गतिविधिविरूद्ध तत्काल र प्रभावकारी कानुनी कारबाही गर्न त्यहाँको सरकारलाई ध्यानाकर्षण गराएको छ।

‘भारतीय कूटनीतिज्ञ निष्कासित’

निज्जरको हत्यामा भारतको भूमिकाको अनुसन्धानलाई दृष्टिगत गर्दै भारका एक शीर्ष कूटनीतिज्ञलाई निष्कासन गरिएको क्यानाडाले जनाएको छ।

ट्रुडोको अभिव्यक्तिपछि पत्रकारहरूसँग बोल्दै विदेशमन्त्री मेलानी जोलीले यो घटनामा भारतीय कूटनीतिज्ञ पवनकुमार रायलाई निष्कासन गरिएको जानकारी दिइन्।

ट्रुडोले जी–२० सम्मेलनमा सहभागी हुने क्रममा यो विषय भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग उठाएका थिए।

त्यस क्रममा ट्रुडोसँगको भेटमा प्रधानमन्त्री मोदीले क्यानाडामा सिख पृथकतावादी गतिविधि र भारतीय कूटनीतिज्ञमाथि आक्रमणको मुद्दा उठाएका थिए।

निज्जर को थिए?

निज्जर क्यानाडाको पश्चिमी कुनामा पर्ने प्रान्त ब्रिटिस कोलम्बियाका प्रभावशाली सिख नेता थिए। उनी केही महिनायता अनपेक्षित घटनामा ज्यान गुमाउने तेस्रो प्रभावशाली सिख नेता हुन्।

उनी सार्वजनिक रूपमै स्वतन्त्र खिस राज्य स्थापनाको माग गर्ने खालिस्तान अभियानमा संलग्न थिए।

यो अभियानकै कारण पहिलादेखि नै उनी निसानामा रहेको उनका समर्थकहरूको दाबी छ।

भारतले यसअघि उनलाई एक पृथकतावादी लडाकु समूहको नेतृत्व गरेको भन्दै आतंककारीको संज्ञा दिएको थियो। उनका समर्थकहरू ती आरोपलाई ‘आधारहीन’ मान्छन्।

क्यानाडाले हालै भारतसँगको खुला व्यापार सम्झौतासम्बन्धी वार्ताहरू रद्द गरेको छ।

विस्तृत जानकारी नदिएको भए पनि उसले केही राजनीतिक विकासक्रमका कारण त्यसो गर्नुपरेको जनाएको छ।

क्यानाडामा भारतीय मूलका झन्डै १४ देखि १८ लाख जना त्यहाँका नागरिक छन्।

भारतको पञ्जाबबाहिर खिसको सर्वाधिक संख्या क्यानाडामै छ।

 

Tags: