post-slider post-slider

बालकुमारी घटना : कमजोरी देखिएको प्रारम्भिक निष्कर्ष

Image
A A

काठमाडौं- उपप्रधान एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठले ललितपुरको बालकुमारीमा मानवीय तथा भौतिक क्षति हुने गरी भएको घटनामा कमजोरी भएको बताएका छन्।

प्रतिनिधिसभाअन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा घटनाबारे जानकारी दिँदै उनले यस्तो बताएका हुन्।

मन्त्री श्रेष्ठले यो घटना हुनमा तीन क्षेत्रमा कमजोरी देखिएको प्रारम्भिक निष्कर्ष  निकालिएको जानकारी दिए।

घटना भएलगत्तै गृह र सुरक्षा निकाय बसेर कुन क्षेत्रम कमजोरी भएको थियो भनेर छलफल गरिएको उनले बताए।

‘रोजगार अनुमति प्रणाली (इपिएस) कार्यालय प्रमुखको भूमिका सकारात्मक नदेखिएको, भौतिक पूर्वाधार तथा यातायातमन्त्रीको सुरक्षा अधिकारीले जिम्मेवारी पूरा नगरेको र नेपाल प्रहरीको फिल्ड कमान्डरको पनि कमजोरी देखिएकोले  प्रारम्भिक निष्कर्षअनुसार निलम्बन गरिएको छ,’ श्रेष्ठले भने।

अनुसन्धानलाई सहज बनाउन ललितपुरका प्रमुख जिल्ला अधिकारी र प्रहरी प्रमुखलाई मन्त्रालय तथा प्रहरी प्रधान कार्यालयमा सरूवा गरिएको उनले जानकारी दिए।

साथै श्रेष्ठले मृतकका परिवारलाई जनही रू.१० लाख राहतको व्यवस्था गरिएको बताए।

मृतकको परिवारलाई इपिएस फन्ड र वैदेशिक रोजगार बोर्डमार्फत अतिरिक्त सुविधाका लागि पहल भइरहेको उनको भनाइ छ।

‘कहीँ न कहीँ कमजोरी भएको निष्कर्ष निकालेर प्रारम्भिकरूपमा गृह मन्त्रालयले छानबिन समिति गठन गरेको छ। समितिको निष्कर्षपछि थप कारबाही अगाडि बढ्छ,’ उनले भने।

स्थितिलाई नियन्त्रणमा लिनका लागि गोली नै नचलाउनु भन्ने सर्कुलर गरिएको जानकराी दिँदै मन्त्री श्रेष्ठले नागरिकको जिउधन, सरकारी तथा निजी भौतिक सम्पत्तिमा गम्भीर क्षति पुग्ने अवस्था देखिए सोच्नुपर्ने, सकेसम्म गोली प्रहार नगर्ने भन्ने रहेको बताए।

घटनाको छानबिनका लागि उच्च अदालतका पूर्वन्यायाधीश शेखर पौडेलको अध्यक्षतामा तीन सदस्यीय जाँचबुझ आयोग गठन गरेको उनले जानकारी दिए।

 

Tags: