post-slider post-slider

कांग्रेस पदाधिकारी बैठक : टुंगियो केन्द्रीय समिति बैठकको एजेन्डा

Image
A A

काठमाडौं- नेपाली कांग्रेसको पदाधिकारी बैठकले केन्द्रीय समिति बैठकमा पेस हुने एजेन्डाहरूको टुंगो लगाएको छ।

सोमबार पार्टी सभापति शेरबहादुर देउवाको धुम्बराहीस्थित निजी निवासमा बसेको पदाधिकारी एवं पूर्वपदाधिकारी बैठकले केन्द्रीय समिति बैठकको एजेन्डा तय गरेको हो।

महामन्त्री विश्वप्रकाश शर्माले समसामयिलगायत विभिन्न १० वटा एजेन्डामाथि केन्द्रीत भएर केन्द्रीय समिति बैठक अघि बढ्ने जानकारी दिए।

उनले प्रस्ताव र प्रतिवेदन गरी केन्द्रीय समिति बैठकमा पेस हुने १० वटा एजेन्डा बैठकबाट तय भएको बताए।

महामन्त्री शर्माका अनुसार केन्द्रीय समिति बैठकमा पार्टीको नीति महाधिवेशनदेखि विभाग गठनलगायतका विषयमाथि छलफल हुनेछ।

उनले समसामयिक, सांगठनिक कार्ययोजना र कार्यतालिका, कार्यसम्पादन समितिको बैठकले यसबीचमा गरेका निर्णय, निर्वाचन परिचालन समितिको बैठकले पेस गरेको प्रतिवेदन, नीति अधिवेशनसम्बन्धी केही खाका प्रस्तुत हुने जानकारी दिए।

महामन्त्री शर्माले नीति अधिवेशनको मिति केन्द्रीय समिति बैठकबाट टुंगो लगाइने बताए।

त्यस्तै विभागहरू गठनसम्बन्धी प्रस्ताव, राष्ट्रियव्यापी अभियानका लागि प्रस्ताव, अनुशासन समितिको प्रतिवेदन, गएको निर्वाचनपछि प्रतिनिधिसभामा पार्टीको भूमिका र प्रस्तुतिबारे प्रमुख सचेतक रमेश लेखकले बैठकमा जानकारी गराउने छन्।

संघ र चारवटा प्रदेस सरकारमा सहभागिता भएकोले सरकारमा भइरहेको गतिविधिबारे उपसभापति पूर्णबहादुर खड्काले बैठकमा जानकारी गराउने छन्।

महामन्त्रीद्वय गगन थापा र शर्मासँग छलफल गरेर तय भएका एजेन्डाबारे सभापति देउवाले पदाधिकारी एवं पूर्वपदाधिकारीहरूसँग छलफल गरेर अन्तिम टुंगो लगाएका हुन्।

विधानअनुसार हरेक दुई महिनामा बस्नुपर्ने कांग्रेस केन्द्रीय समितिको बैठक एक वर्षपछि मंगलबार बस्दैछ।

सानेपास्थित पार्टी केन्द्रीय कार्यालयमा अपराह्न १ बजेदेखि बैठक बोलाइएको हो।

 

Tags: