post-slider post-slider

सुन तस्करी प्रकरणमा महरा आउलान् अनुसन्धानको दायरामा?

Image
A A

काठमाडौं- त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट ‘ब्रेक सु’ मा राखेर सुन तस्करी भएको घटना बाहिरिएपछि अर्को एउटा सुनकाण्डले चर्चा पायो।

त्यो थियो–गत वर्ष पुसमा त्रिभुवन विमानस्थलबाटै इलेक्ट्रिक सिगरेट (भेप) मा राखेर पास भएको सुनकाण्डको।

पछिल्लोभन्दा पुसमा भएको सुन तस्करीको परिणाम ज्यादै कम थियो। ‘ब्रेक सु’ मा ६० किलो सुन तस्करी भएकोमा भेपमा भने ९ किलो सुन विमानस्थलबाट पास भएको थियो।

भेपमा राखेर भएको सुनतस्री लगभग सेलाइसकेको भए पनि ६० केजी सुन तस्करी प्रकरणले यो कान्डलाई चर्चामा ल्याइदियो।

९ किलो सुन तस्करी प्रकरण चर्चामा आउनुको एउटा कारण थियो– यो काण्डमा माओवादीका उपाध्यक्ष एवं पूर्वसभामुख कृष्णबहादुर महरा बाबुछोरा मुछिएका थिए।

सुन तस्करीमा संलग्न चिनियाँ गिरोहसँग महराबाबु छोराको पटक–पटक टेलिफोन संवाद भएको सरकारी अनुसन्धानबाट खुलेको थियो। तर, यो प्रकरणमा हालसम्म उनीहरूसँग सोधपुछसमेत भएको छैन।

नक्कली भुटानी शरणार्थी, ललिता निवास र ६० केजी सुन प्रकरणमा धमाधम आरोपितहरू पक्राउ परिरहँदा ९ किलो सुन प्रकरणमा आफ्नै नेताको नाम जोडिँदा अनुसन्धान नगराएको भन्दै प्रधानमन्त्री प्रचण्ड र गृहमन्त्री नारायणकाजी श्रेष्ठको आलोचना भइरहेको छ।

केही दिनअघि शीर्ष नेताहरूको बैठकमा सरकारका प्रमुख घटक दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पनि यो विषय उठान गरेका थिए।

‘कसैले पोलेकै आधारमा कांग्रेसका नेतालाई पक्राउ गर्ने, अनि सुन तस्करीमा नाम मुछिएका आफ्नो पार्टीका नेतालाई केही नगर्ने,’ गृहमन्त्री श्रेष्ठसमेत उपस्थित रहेको बैठकमा देउवाले प्रश्न गरेका थिए।

९ किलो सुन तस्करीमा संलग्न रहेको आरोप लागिरहे पनि महराले भने त्यसलाई अस्वीकार गर्दै आएका छन्। यहाँसम्म कि अनुसन्धानका लागि बोलाउन भने पनि आफूलाई नबोलाइएको उनको भनाइ छ।

‘सुन प्रकरणबारे सरकारलाई कुनै पनि छानबिनका लागि सघाउनका निम्ति तयार छु भनेर भन्दै आएको छु। अनुसन्धानका लागि मलाई बोलाउनुस् पनि भनेकै छु। तर, बोलाउँदैनन् त के गर्नु?,’ ३० साउनमा गृहनगर दाङ पुगेर महराले पत्रकारमाझ भनेका थिए।

८ करोड ५५ लाखको सुन तस्करी तथा बेचबिखनमा महरा बाबु–छोरा संलग्न भएको भनेर सिआइबीको प्रतिवेदनमा टेलिफोन नम्बरसहित किटान गरिएको छ।

महराका छोरा निर्मलका नाममा रहेको मोबाइलबाट तस्करीमा संलग्न भनिएका (हाल फरार) चिनियाँ नागरिक लुई हानसोङ, दाओजिन वाङ र असिमसँग पटक–पटक सम्पर्क भएको पाइएको छ।

त्यस्तै चिनियाँ नागरिक लुईका सहयोगीसँगसमेत राहुलले पटक–पटक सम्पर्क गरेको देखिएको छ। राहुलले विमानस्थलका भन्सार अधिकृत मुक्तिप्रसाद श्रैष्ठलाई समेत टेलिफोन गरेको पाइएको छ।

हुनत माओवादी उपाध्यक्ष महराले सुन तस्करीमा संलग्न चिनियाँ नागरिक वाङसँग आफ्नो सम्बन्ध नभएको भनेर अस्वीकार गरेका छैनन्। तर, वाङलाई आफूले फलफूल व्यापारीको रूपमा मात्रै चिनेको उनको भनाइ छ।

‘चिनियाँ नागरिकलाई वाङलाई फलफूल व्यापारीका रूपमामात्र चिनेको छु। त्यसबाहेक उनलाई चिनेको छैन,’ महराले भनेका छन्।

तर, तस्कर भनिएका चिनियाँ नागरिकसँग टेलिफोन संवाद भएको पाइए पनि महरामाथि हालसम्म छानबिन नहुँदा प्रधानमन्त्री प्रचण्ड र गृहमन्त्री श्रेष्ठको आलोचना भइरहेको छ।

९ किलो सुन भित्र्याउने तस्करसँग महरा र उनका छोराको सम्बन्ध पुष्टि भइसक्दासमेत अनुसन्धान नहुँदा पछिल्लो समय विभिन्न प्रकरणको अनुसन्धानलाई लिएर बाहवाही कमाइरहेको सरकारको विश्वसनीयतामाथि प्रश्न उठिरहेको छ।
सुन प्रकरणमा अहिलेसम्म अनुसन्धानबाहिर रहेका महरा बाबुछोरा भने अब छानबिनको दायरामा आउने भएका छन्।

सरकारी वकिल कार्यालयले महरा बाबुछोरामाथि समेत अनुसन्धान गर्न निर्देशन दिएको खुलेको छ।

यो प्रकरणको अनुसन्धान प्रतिवेदन २९ असारमा सिआइबीले सरकारी वकिल कार्यालय काठमाडौंमा पेस गरेको थियो। 

प्रतिवेदनका आधारमा पाँच जना पुर्पक्षका लागि थुनामा र तीन जना फरार छन्। एक जना धरौटीमा रिहा भएका छन्।

महरा बाबुछोरालाई जोगाएर प्रहरीले अनुसन्धान प्रतिवेदन बुझाएको भन्दै अनुसन्धानमाथि नै प्रश्न उठेको थियो।

सरकारी वकिल कार्यालयले यस्तो निर्देशन दिएपछि सुन तस्करी प्रकरणमा अहिलेसम्म जोगिएका महरा बाबुछोरा पनि अनुसन्धानको दायरामा आउने सम्भावना बढेको छ।

जिल्ला सरकारी वकिल कार्यालयका प्रमुख अच्युतमणि नेउपानेका अनुसार भेपमार्फत भएको सुन तस्करीको अनुसन्धान गर्न सिआइबीलाई निर्देशन दिइएको छ।

त्यस्तै सुन तस्करी प्रकरणलाई लिएर सरकारी वकिल कार्यालयले त्रिभुनव अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालयका कर्मचारीहरूमाथि छानबिन गर्न अख्तियार दुरूपयोग अनुसन्धान आयोगलाई पत्र लेखेको छ।

विमानस्थल भन्सार कार्यालयका प्रमुखसहित सबै कर्मचारीमाथि छानबिन गर्न आयोगलाई पत्राचार गरिएको जिल्ला सरकारी वकिल कार्यालयका प्रवक्ता महेश खत्रीले बताएका छन्।

Tags: