कपिलवस्तुमा रात्रि बस दुर्घटना हुँदा १० जनाको मृत्यु
लुम्बिनी, फागुन ३- कपिलवस्तुमा यात्रुबहाक बस दुर्घटना हुँदा १० जनाको ज्यान गएको छ।
कपिलवस्तुको शिवराज नगरपालिका वडा नम्बर १ सुरही पुलनजिकै बस दुर्घटना हुँदा १० जनाको मृत्यु भएको हो।
बिहीबार बिहान राति १ बजे महेन्द्रनगरबाट काठमाडौं जाँदै गरेको सुनौलो महाकाली यातायातको बस दुर्घटनामा परेको जिल्ला प्रहरी कार्यालय कपिलवस्तुले जनाएको छ।
सुनौलो महाकाली यातायातले सञ्चालन गरेको सु–प–प्र–०२–००१ ख ००९८ नम्बरको बस बाटोबाट दुई सय मिटर तल खसेको थियो। दुर्घटनामा परी ३० जना घाइते भएका छन्। घाइतेमध्ये ९ जनालाई उपचारका लागि बुटवल रिफर गरिएको छ। अन्यको सञ्जीवनी र आधारभूत अस्पतालमा उपचार भइरहेको कपिलवस्तुका प्रहरी उपरीक्षक नवरत्न पौडेलले बताए।
जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका प्रवक्ता प्रहरी नायब उपरीक्षक हरिबहादुर वलीका अनुसार मृतक तीन महिला र सात पुरुष छन्। उनीहरूको सनाखत भइरहेको वलीले बताए।
घाइते सबैको उद्धार गरी अस्पताल पठाइसकिएको प्रहरीले जनाएको छ। बसमा ४० यात्रु सवार सवार रहेको र चालक पनि घाइते रहेको प्रहरीले बताएको छ। तीव्र गतिका कारण बस सडकबाट तल खसेको प्रहरीको अनुमान छ।