post-slider post-slider

नेपाली संस्कृति र भाषाप्रति गर्व गर्नुपर्छ : प्रधानमन्त्री

Image
A A

काठमाडौं- प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले जहाँ भए पनि नेपाली मन, भाव, संस्कृति र नेपाली भाषाप्रति गर्व गर्नुपर्ने बताएका छन्। इन्ट्रा फाउन्डेसनले आयोजना गरेको ‘मेरो भ्वाइस युनिभर्स’ र ‘मेरो डान्स युनिभर्स’को ग्रान्ड फिनाले कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन्। 

कला र संस्कृतिलाई आफ्नो ठाउँबाट पहिलोचोटि प्रधानमन्त्रीको हैसियतले अगाडि बढाउन सक्दो सहयोग गरेको स्मरण गर्दै उनले आगामी दिनमा पनि सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे। 

‘ग्रान्ड फिनाले कार्यक्रमबाट आज एउटा बलियो सन्देश विश्वभरि सम्प्रेषित भएको छ, एउटा ठूलो सन्देश गएको छ,’ उनले भने, ‘अभियानको सुरुआतकर्ता हुनुको नाताले हामी सम्पूर्ण नेपालीहरू पनि अभियानमा संलग्न सबैप्रति साँच्चिकै हृदयदेखि आभार व्यक्त गर्न पनि चाहन्छौँ।’ ग्रान्ड फिनाले कार्यक्रम साँच्चिकै गर्व गर्नलायक रहेको र कलाकारले अद्वितीय कला प्रदर्शन गरेको उनको भनाइ छ।

‘जसरी कला, साहित्य र संस्कृति, बढी भावना र संवेदनशील हुन्छ र धेरै शक्तिशाली हुन्छ, त्यसले मानिसलाई जोड्छ, एकतालाई सुदृढ गर्छ, आफ्नो पहिचानलाई विश्वव्यापी रूपमा स्थापित गर्छ,’ प्रधानमन्त्री प्रचण्डले भने, ‘यो ग्रान्ड फिनाले कार्यक्रम हेर्दै गर्दा प्रस्तुति सुन्दै गर्दा गर्व लागेको छ।’ कार्यक्रमले संसारभरि रहेका नेपालीलाई भावनात्मक, सांस्कृतिक रूपले, संवेदनाको हिसाबले इतिहासको रूपले एक ठाउँमा जोडेको उनको भनाइ छ। 

प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेले संसारको जुन कुनामा भए पनि नेपाली कला, भाषा, साहित्य र संस्कृतिलाई अगाडि बढाउनुपर्नेमा जोड दिए। परराष्ट्रमन्त्री एनपी साउदले नेपाली कला, संस्कृतिको संरक्षणमा जोड दिए। 

सिक्किम सरकार भारतका कृषि तथा बागमनीमन्त्री लोकनाथ शर्माले संसारका मानिसलाई कला र संस्कृतिको माध्यमबाट एकै ठाउँमा जोड्ने काम गरेको बताए। 

Tags: