post-slider post-slider

दसैंमा करिब पाँच सय मेगावाट विद्युत खेर

Image
A A

काठमाडौं- दसैंमा देशभित्रको आन्तरिक विद्युत खपत घट्दा जलविद्युत आयोजनाहरूबाट उत्पादित करिब पाँच सय मेगावाट विद्युत खेर गइरहेको छ।

दसैंमा विद्युत बढी खपत गर्ने उद्योग कलकारखानाहरू बन्द हुँदा र काठमाडौंमा चिसो सुरू भइ नसकेको तथा तराईमा गर्मी पनि सकिएकाले आन्तरिक रूपमा विद्युतको माग घटेको छ।

तर, बर्खा सकिएको र नदी तथा खोलानाहरूमा सफा पानीको बहाव हुने हुँदा यो समयमा नेपाल विद्युत प्राधिकरण, यसका सहायक कम्पनीहरू र निजी क्षेत्रका स्वामित्वका जलविद्युत आयोजनाहरूबाट विना अवरोध विद्युत उत्पादन हुने गरेको छ।

नेपाल विद्युत प्राधिकरण, यसका सहायक कम्पनीहरू र निजी क्षेत्रका जलविद्युत आयोजनाहरूबाट हाल दैनिक रूपमा करिब २ हजार २ सय मेगावाट विद्युत उत्पादन भइरहेको छ।

त्यसमध्ये करिब १ हजार मेगावाट देशभित्र खपत भइरहेको छ भने करिब साढे ६ सयदेखि ७ सय मेगावाट विद्युत भारततर्फ निर्यात भइरहेको छ।

प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले उत्पादित विद्युत देशभित्र खपत गर्न नसक्दा र थप निर्यातका लागि भारतबाट स्वीकृति पाउन नसक्दा अहिले दैनिक रूपमा पाँच सय मेगावाटको हाराहारीमा विद्युत खेर फाल्नुपर्ने वाध्यात्मक अवस्था उत्पन्न भएको बताएका छन्।

प्राधिकरणले देशभित्र खपत गरी बचत भएको वर्षा यामको विद्युत भारततर्फ निर्यात गर्दै आएको छ।

प्राधिकरणले आइएक्स डे–अहेड बजारमा प्रतिस्पर्धामार्फत र केहीअघिबाट मध्यकालीन विद्युत सम्झौताबमोजिम करिब ११० मेगावाट विद्युत भारतीय कम्पनी एनटिपिसी विद्युत व्यापार निगम लि–एनभिभिएनलाई बिक्री गरिरहेको छ।

एनिभएनले यो विद्युत हरियाणा राज्यमा बिक्री गरिरहेको छ।

भारतको केन्द्रीय विद्युत प्राधिकरणले प्रतिस्पर्धी बजारमा निर्यातका लागि स्वीकृति दिइएकै ५२२ मेगावाटमध्येबाट पहिलो चरणमा करिब ४४ मेगावाट विद्युत रियल टाइम मार्केटमा बिक्रीलाई पनि अनुमति दिएको छ।

नेपाल विद्युत प्राधिकरणले प्रतिस्पर्धी बजारमा ५२२ मेगावाट विद्युत निर्यातका लागि स्वीकृति पाएको छ।

यसमध्ये ५६२ मेगावाट विद्युत ढेल्केबर–मुजफ्फरपुर ४०० केभी अन्तरदेशीय प्रसारण लाइनबाट र ७० मेगावाट महेन्द्रनगर–टनकपुर १३२ केभी प्रसारण लाइनबाट निर्यात भइरहेको छ।

प्राधिकरणले गत जेठदेखि असोजसम्ममा ११ अर्ब ८० करोड २८ लाख रूपैयाँको विद्युत भारततर्फ निर्यात गरेको छ।

प्राधिकरणले देशभित्र खपत गरी बचत भएको वर्षा यामको विद्युत यस वर्ष गत जेठ २८ बाट भारतीय बजारमा बिक्री सुरू गरेको थियो।

प्राधिकरणले चालु आर्थिक वर्ष २०८०–८१ को साउन, भदौ र असोज तीन महिनामा ९ अर्ब ६४ करोड ५४ लाख रूपैयाँको विद्युत भारततर्फ निर्यात गरेको छ।

असोज महिनामा मात्र ४ अर्ब २ करोड ३५ लाख रूपैयाँको विद्युत निर्यात भएको छ।

तीन महिनामा भारततर्फ निर्यात गरिएको विद्युतको औसत दर प्रतियुनिट १० रूपैयाँ २७ पैसा रहेको छ। जेठ र असारमा भारततर्फ निर्यात गरिएको विद्युतको औसत दर प्रतियुनिट ९ रूपैयाँ ६७ पैसा थियो।

 

Tags: