post-slider post-slider

इक्वेडरमा राष्ट्रपतिका उम्मेदवारको गोली हानी हत्या

Image
A A

काठमाडौं- इक्वेडरको आसन्न राष्ट्रपतीय चुनावका एक उम्मेदवारको गोली हानी हत्या गरिएको छ।

देशको उत्तरी सहर क्विटोमा आयोजित एक कार्यक्रममा त्यहाँका सांसद फर्नान्डो भिल्लाभिसेन्सिओमाथि आक्रमण भएको थियो।

उनको प्रचार अभियान समूहका एक सदस्यले स्थानीय सञ्चारमाध्यमलाई बताएअनुसार भिल्लाभिसेन्सिओ आफ्नो कारमा चढ्ने क्रममा एक व्यक्तिले उनको टाउकोमा गोली हानेका थिए।

प्रत्यक्षदर्शीका अनुसार ५९ वर्षीय भिल्लाभिसेन्सिओमाथि तीनपटक गोली प्रहार भएको थियो।

राष्ट्रपति गुइलेर्मो लासोले उनको मृत्यु भएको सामाजिक सञ्जालमार्फत पुष्टि गरेका छन्।

सुरक्षाकर्मीहरूसँग मुठभेड हुँदा संदिग्ध व्यक्तिलाई पनि गोली लागेको थियो र पछि उनको मृत्यु भएको महान्यायाधिवक्ताले जानकारी दिएका छन्।

त्यहाँ आगामी अगस्त २० मा राष्ट्रपति पदका लागि पहिलो चरणको निर्वाचन हुँदैछ।

राष्ट्रपति लासोले हत्याबाट आफू ‘आक्रोशित र स्तब्ध’ भएको बताउँदै ‘अपराधीलाई दण्ड दिने’ प्रतिबद्धता व्यक्त गरेका छन्।

लासो यसपटक चुनावी मैदानमा उत्रिएका छैनन्।

गत महिना लासोले संगठित अपराधसँग सम्बन्धित कैयौं हत्याका घटना भएपछि तीनवटा प्रान्तमा आपतकालीन अवस्था र रात्रिकालीन कफ्र्यु घोषणा गरेका थिए।

इक्वेडरमा लागु औषध कारोबारीहरूको बढ्दो उपस्थितिका कारण हिंसात्मक अपराधमा वृद्धि हुनु राष्ट्रपतिको चुनावी अभियानको मुख्य मुद्दा बनेको छ।

भिल्लाभिसेन्सिओको चुनावी अभियान पनि सुरक्षाका साथै भ्रष्टाचार नियन्त्रण गर्ने प्रतिबद्धतामा केन्द्रित थियो। यसअघि पत्रकारितामा संलग्न रहँदा उनले यिनै विषयमाथि लेख्थे। 

उनी पर्यावरणीय क्षति पनि कम होस् भन्ने चाहन्थे।

गत साता पूर्वपत्रकार भिल्लाभिसेन्सिओले आफू र आफ्नो समूहलाई लागु औषध ओसार प्रसारमा संलग्न गिरोहका नेताले धम्की दिएको बताएका थिए।

 

Tags: