सीमा विवादमा अड्किएको नेपाल–भारत सम्बन्ध ‘सेतु’ : जमुनीघाट पुल
जनकपुरधाम- नेपालकै सबैभन्दा होचो भूभागको रूपमा परिचित गाउँ हो धनुषाको मुसहरनिया।
सर्भे इन्जिनियर नारायणकृष्ण न्हुछें प्रधानले सन् १९९६ मा नापी विभागअन्तर्गत नापी महाशाखाले फिनिस इन्टरनेसनल डेभलपमेन्ट एजेन्सी (फिनिड) को सहयोगमा प्रकाशित गरेको टोपोग्राफिकल नक्सामा मुसहरनियाको उचाइ ५९ मिटर रहेको उल्लेख छ।
राज्य पुनर्संरचना हुँदा यतिबेला मुसहनिया गाउँ मुखियापट्टी मुसहरनिया गाउँपालिकामा समावेश भएको छ।
सबैभन्दा होचो ठाउँको रूपमा मात्रै सीमित छैन यो गाउँको परिचय। मिथिलाको ‘महाकुम्भ’ भनिने १५ दिने मिथिला मध्यमा परिक्रमा भारतबाट नेपाल प्रवेश गर्दा यही गाउँ हुँदै प्रवेश गर्दछ।
भारतीय सीमानजिकै रहेको मुखियापट्टी मुसहरनिया गाउँले धार्मिक महत्वसमेत बोकेको छ।
गाउँकै दक्षिणतर्फ बग्छ जमुनी नदी। यही नदी कुनैबेला नेपाल–भारतको सीमा छुट्याउने काम गरेको थियो। नदीभन्दा ३–४ किलोमिटर दक्षिणमा छ, गिरिजास्थान।
पौराणिक मान्यताअनुसार त्रेतायुगमा भगवान राम र माता सीताको पहिलो भेट यही गिरिजास्थानको फूलबारीमा भएको थियो।
नेपालको सीमाबाट केही दूरीमा भए पनि गिरिजास्थानसम्म पुग्न वैकल्पिक बाटो प्रयोग गरेर मुखियापट्टी मुसहरनिया र आसपासका स्थानीयहरू २०–२५ किलोमिटर यात्रा गर्न बाध्य छन्।
कारण भने जमुनी नदीमा पुल नहुनु हो। नदीमा पुल नहुँदा यो बाटो भएर आवत–जावत गर्ने दुवै देशका नागरिकहरू जोखिम मोल्न बाध्य छन्।
वर्षातको बेला नदीमा पानीको बहाव बढी हुँदा आवत–जावत ठप्प हुन्छ भने अरू बेला जोखिम मोल्नुपर्ने हुन्छ।
हुनत यो नदीमा पुल निर्माण गर्ने प्रयास नभएको भने होइन। करिब १० वर्षअघि तत्कालीन भौतिक पूर्वाधारमन्त्री विमलेन्द्र निधिले पुलको शिलान्यास गरेका थिए।
टेन्डर परेको निर्माण व्यवसायीले पुल निर्माण कार्य पनि सुरू गरे। कामले गति लिन सकेन। निर्माण व्यवसायीबाट सुरूमै ढिलाइ भयो। पछि सीमा विवाद झिकियो। र, पुल निर्माण लगभग १० वर्षदेखि ओझेलमा परेको छ।
नदीको दुई किनार र बीचमा तीनवटा पिलर ठडिएका छन्। तर, त्यहाँ पुल छैन।
नेपाल सरकारका तर्फबाट पुल निर्माण भइरहेको स्थान आफ्नो भूभाग रहेको भन्दै भारतीय पक्षले रोक लगाइदिएको छ।
शनिबार एक कार्यक्रममा सहभागी हुने नेपाली कांग्रेसका पूर्वउपसभापति एवं तत्कालीन भौतिकमन्त्री निधि मुखियापट्टी मुसहरनिया पुगे।
कार्यक्रममा सम्बोधन गरेका एक स्थानीयले नेता निधिलाई भने ‘तपाईंले नै शिलान्यास गरेको पुल हो यो। यतिको समयसम्म बन्नसकेको छैन। हामीले ज्यादै कठिनाइ भोग्नुपरिरहेको छ। पुल निर्माणका लागि पहल गरिदिनुप¥यो। हाम्रो आग्रह छ।’
निधिले सीमा विवादका कारण पुल निर्माणमा ढिलाइ भएको र आफू अहिले पनि निरन्तर प्रयासरत रहेको बताए।
‘यहाँका स्थानीयले भोग्नुपरेको समस्यालाई दृष्टिगत गरेरै पुलको शिलान्यास गरेँ। त्यतिबेला सीमासम्बन्धी कुनै विवाद नै थिएन। भारततर्फको भूभाग हो भनेर हामीले बुझ्नै सकेनौं,’ उनले भने,‘अब भारतले अनुमति दिएमात्रै पुल निर्माण सम्भव छ।’
भारतका विदेशमन्त्री एस.जयशंकर आगामी १९ गते नेपाल भ्रमणमा आउँदैछन्। उनको भ्रमणका क्रममा नेपाल सरकारले जमुनी नदीमा पुल निर्माणको विषय उठाउनुपर्ने निधिले बताए।
दुवै मुलुकको सहमति नभएसम्म पुल निर्माण कार्य अगाडि बढाउन सम्भव नभएकाले कूटनीतिक तवरबाट यो समस्या समाधान गर्नुपर्नेमा उनले जोड दिए।
‘मितेरी पुलको रूपमा निर्माण गर्न सकिन्छ, साझा पुलको रूपमा पनि निर्माण हुनसक्छ। कि त भारतले निर्माणका लागि सहमति दिनुप¥यो,’ निधिले भने,‘यो सबै विषय हाम्रो सरकारले भारतसमक्ष राख्नुप¥यो।’
उनले आफू व्यक्तिगत रूपमा पनि पुल निर्माण कार्य अगाडि बढाउने विषयमा प्रयासरत रहेको उल्लेख गरे।
‘भारतीय दूतावासमा कुरा भइरहेको छ। अरू भारतीय अधिकारीहरूसँग पनि छलफल गरिरहेको छुँ। मेरो निरन्तर प्रयास जारी छ,’ उनले भने।
स्थानीयहरूका अनुसार पुल निर्माणका लागि तयार पारिएको तीन पिलरमध्ये बीचको पिलरसम्म आफ्नो भूभाग रहेको भारतले दाबी गरेको छ। बीचको पिलर पर्नेगरी ७–८ वर्षअघि नयाँ सीमास्तम्भ गाडिएको उनीहरूको भनाइ छ।
‘सुरूमा नदी पारी दक्षिणतर्फ सीमास्तम्भ गाडिएको थियो। पछिल्लो समय नापी हुँदा दुवै देशका अधिकारीहरूको सहमतिमा नदीवारी उत्तरतर्फ गाडिएकोपछि सीमासम्बन्धी विवाद सुरू भएको हो,’ एक स्थानीयले भने।
स्थानीयहरूका अनुसार भारतीय सीमा सुरक्षा बल (एसएसबी) ले पुल निनर्माणमा रोक लगाइदिएको हो।
मुखियापट्टी मुसहरनिया गाउँपालिकाका अध्यक्ष जयकुमार यादव नेपाल–भारत सम्बन्धको सेतुको रूपमा रहेको जमुनी नदीमा पुल निर्माणका लागि पहल गरिदिन गत जेठ महिनामै जिल्ला प्रशासन कार्यालयसँग अनुरोध गरेको बताए।
अध्यक्ष यादव जमुनीघाट (दशगजा नं.२८७/२१) मा भारतको बिओपी (बोर्डर अवर्जभेसन पोस्ट) का सुरक्षाकर्मीले पुल निर्माण कार्यमा रोक लगाएको बताए।
पुल निर्माण कार्यलाई निरन्तरता प्रदान गर्नका लागि आवश्यक कूटनीतिक पहल गरिदिन आफूले जिल्ला प्रशासन कार्यालयसँग सात महिनाअघि नै अनुरोध गरेको उनको भनाइ छ।
मुखियापट्टी मुसहरनिया गाउँपालिका–६ स्थित गिरिजापथमा पर्ने भारत बिहार राज्यको मधुबनी जिल्ला, ग्रामपञ्चायत फूलहर, डिघिया टोल (दशगजा नं. २८७/२१) सँगै रहेको बेलाघाट / जमुनीघाट (नदी) लाई धार्मिक सडकको रूपमासमेत लिइन्छ।
अध्यक्ष यादवले यो नदीले नेपालको धार्मिक तथा सामाजिक सम्बन्धलाई सुमधुर बनाउन ठूलो योगदान पु¥याएको बताए।
यही नदी भएर १५ दिने मिथिला माध्यमिकी परिक्रममा लाखौं श्रद्धालुहरू भारत बिहारको कलानेश्वर तीर्थस्थलबाट फूलहर हुँदै नेपालको महोत्तरी जिल्लास्थित मटिहानी पुग्ने गरेका छन्।