post-slider post-slider

बाढीपहिरोमा बेपत्ता भएकाहरूको खोजीका लागि सम्पूर्ण राज्यसंयन्त्र परिचालन भएको छ : प्रचण्ड

Image
A A

काठमाडौं- प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले बाढीपहिरोमा परी बेपत्ता भएका नागरिहरूको खोजी, उद्धार कार्य र राहतका निम्ति सम्पूर्ण राज्यसंयन्त्र परिचालन गरेको बताएका छन्।

सोमबार ताप्लेजुङ र पाँचथरका राजनीतिक दल तथा जनप्रतिनिधिहरूको टोलीसँग बालुवाटारमा भेट गर्दै प्रचण्डले यस्तो बताएका हुन्।

उनले प्राकृतिक प्रकोपको जोखिम अहिले पनि विद्यमान रहेकाले सरकारले राज्यका सम्पूर्ण संयन्त्र परिचालन गर्ने बताए।

भेटमा ताप्लुजुङ र पाँचथरका राजनीतिक दलका नेता र जनप्रतिनिधिहरूले ताप्लेजुङ, पाँचथर र संखुवासभामा बाढीपहिरोबाट ठूलो धनजनको क्षति भएको जानकारी गराउँदै तत्कालका लागि टेन्ट, खाद्यवस्तु, भाडाकुँडा र लत्ताकपडा उपलब्ध गराउन ध्यानाकर्षण गराएका थिए।

त्यस्तै उनीहरूले पुल भत्किएका ठाउँमा तत्काल वैकल्पिक कनेक्टिभिटी जोड्न प्रधानमन्त्री प्रचण्डको ध्यानाकर्षण गराएका छन्।

प्रधानमन्त्री प्रचण्डले क्षतिको सम्पूर्ण विवरणबारे आफू जानकार रहेको र खोजी कार्य, उद्दार तथा राहतमा सम्पूर्ण राज्यसंयन्त्र परिचालन गर्न पहल लिइरहेको जानकारी गराएका थिए।

उनले कनेक्टिभिटी टुटेको स्थानमा युद्धस्तरमा बेलिब्रिज निर्माण गर्न निर्देशन दिइसकेको बताए।

तत्काल पहलकदमी लिन गृह, रक्षा र भौतिक मन्त्रालयलाई निर्देशित गरेको बताउँदै प्रधानमन्त्री प्रचण्डले खाद्यान्न, आवास र स्वास्थ्यसम्बन्धी आवश्यक सामग्री तत्काल पठाउने पनि बताए।

भेटमा पूर्वमन्त्री एवं नेकपा उमालेका सचिव योगेश भट्टराई, पूर्वमन्त्री वसन्तकुमार नेम्वाङ, सांसद लिला बखिन, माओवादी केन्द्रका केन्द्रीय सदस्य तथा जिल्ला इञ्चार्ज खेलप्रसाद बुढाक्षेत्री लगायतका नेता एवं जनप्रतिनिधिहरू सहभागी थिए।

 

Tags: