post-slider post-slider

‘सुन काण्डको स्वतन्त्र अनुसन्धान भइरहेको छ, कोही उम्किन पाउँदैनन्’

Image
A A

काठमाडौं- अर्थमन्त्री प्रकाशशरण महतले त्रिभुवन विमानस्थलबाट सय किलो सुन बाहिरिएको प्रकरणमा स्वतन्त्र अनुसन्धान भइरहेको बताएका छन्।

बिहीबार विमानस्थलको अनुमगनपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै महतले यो प्रकरणको स्वतन्त्र अनुसन्धान भइरहेको र दोषी कोही पनि उम्किन नपाउने बताएका हुन्।

‘अनुसन्धान प्रक्रिया स्वतन्त्र रूपमा अगाडि बढिरहेको छ। अनुसन्धानमा राज्यले पूर्ण सहयोग गरेको छ। दोषी जो कोही भए पनि उम्किन पाउँदैनन्,’ उनले भने।

मन्त्री महतले विमानस्थलबाट हुने तस्करीलगायतका आपराधिक गतिविधि रोक्न राज्यका सबै निकायबीच समन्वयकारी भूमिकामाथि जोड दिए।

विमानस्थलमा खटिने राज्यका सबै अङ्गहरूबीच समन्वयकारी भूमिकाले आपराधिक गतिविधि नियन्त्रणका लागि सहयोग पु¥याउने उनले बताए।

‘एउटैको भूमिकाले परफेक्ट नतिजा आउँदैन, नाकाको दुरूपयोगलाई पूर्णरूपमा रोक्न सबै निकायको समन्वयकारी भूमिका जरूरी छ,’ उनले भने,‘एकअर्कालाई सहयोग गरे एउटा प्वाइन्टबाट छले पनि अर्को प्वाइन्टमा समातिन्छ।’

मन्त्री महतले कुनै पनि बहानामा उदासीनता देखाउनु वा जिम्मेबारी वहन नगर्ने कार्य मान्य हुन नसक्ने बताए।

तस्करहरूले नयाँ प्रविधिको प्रयोग गरिरहेकाले नियन्त्रणका लागि विमानस्थलको प्रविधि पनि अपग्रेड गर्नुपर्ने देखिएको उनको भनाइ छ।

‘तस्करहरूले नयाँ प्रविधि प्रयोग गरिरहेका छन्, त्यसलाई नियन्त्रण गर्न हामीले पनि प्रविधि अपग्रेड गर्नुपर्ने देखिएको छ,’ महतले भने,‘प्रविधि अपग्रेड गर्न अर्थ मन्त्रालयले सहयोग गर्छ।’

एक क्विन्टल सुन विमानस्थलबाट कसरी निस्किेको विषयमा अनुसन्धान भइरहेको महतले बताए।

‘यो विषयमा अनुसन्धान भइरहेको छ। केही कर्मचारी निलम्बनमा परेका छन्। सूचनाका आधारमा कतिपय पक्राउ परेका छन्। अनुसन्धान टुंगिएपछि कहाँनेर ल्याप्सेस भयो भन्ने विषय खुल्छ,’ उनले भने।

 

Tags: