post-slider post-slider

पुराना राजनीतिक दलहरूमाथि प्रायोजित रूपमा आक्रमण भइरहेको छ : लेखक

Image
A A

काठमाडौं- नेपाली कांग्रेसका प्रमुख सचेतक रमेश लेखकले पुराना दलहरूमाथि प्रायोजित रूपमा आक्रमण भइरहेको बताएका छन्।

बिहीबार प्रतिनिधिसभा बैठकलाई सम्बोधन गर्दै उनले पुराना राजनीतिक दलहरू सबै बेठिक हुन् भन्ने भाष्य तयार गरेर नियोजित रूमा आक्रमण भइरहेको बताए।

गणतन्त्र र संविधान ल्याउने राजनीतिक दलमाथिको नियोजित आक्रमण रोक्नुपर्ने उनको भनाइ थियो।

लेखकले संविधान र व्यवस्था असफल भए मुलुक खतरामा जाने दाबी गरे।

‘यो संविधान र अहिलेको व्यवस्थाविरूद्ध यदाकदा आवाज उठ्ने गरेको छ। प्रायोजित रूपमा उठ्ने गरेको छ। यो व्यवस्थै खराब हो, यो संविधान नै खराब हो, पुराना राजनीतिक दलहरू बेठीक हुन्,’ उनले भने,‘प्रायोजित ढंगले भाष्य तयार गर्ने प्रयत्न भइरहेको छ। यो देशका लागि खतरा छ।’

लेखकले यो परिस्थितिलाई चिर्न संविधान बनाउने सबै राजनीतिक दलहरू एक ठाउँमा उभिनुपर्ने बताए।

संविधान असफल गर्ने छुट नरहेको बताउँदै उनले लोकतान्त्रिक मूल्य र मान्यताको परिधिमा बसेर सहमति र सहकार्यको विकास गर्नुपर्नेमा जोड दिए।

संविधान असफल भए मुलुक अनिष्टकारी खतरामा पुग्ने उनले बताए।

 

Tags: