post-slider post-slider

दिल्लीमा अपार्टमेन्टमा राखेर नेपाली युवतीलाई यौनधन्दामा लगाउने दम्पती पक्राउ

Image
A A

काठमाडौं- नेपाली युवतीलाई दिल्लीमा पुर्‍याएर यौनधन्दामा संलग्न गराएको आरोपमा श्रीमान्(श्रीमती पक्राउ परेका छन्।

पक्राउ पर्नेमा स्याङ्जा गल्याङ नगरपालिका(७ घर भएका ३५ वर्षीय टिकाराम भण्डारी र उनकी श्रीमती ३१ वर्षीया टिकाकुमारी वली रहेकी छिन्।

नेपाल प्रहरी मानव बेचबिखन ब्युरोको टोलीले उनीहरूलाई चार पाँच दिनअघि कञ्चनपुर जिल्लाबाट पक्राउ गरेको हो।

ब्युरो प्रवक्ता प्रहरी उपरीक्षक कृष्णप्रसाद पंगेनीका अनुसार दिल्लीमा अपार्टमेन्ट भाडामा लिएर उनीहरूले नेपाली चेलीलाई यौन क्रियाकलापमा लगाएको पाइएको छ।

दिल्लीका विभिन्न होटल, रेष्टुरेन्ट, फेन्सी पसलमा आकर्षक काम पाइने र कमाई राम्रो हुने प्रलोभन देखाएर भण्डारी दम्पतीले युवतीहरूलाई त्यहाँ पुर्‍याउने गरेको खुलेको छ।

अनुसन्धान अनुसार भण्डारी दम्पतीले दिल्लीको किसनगढस्थित अपार्टमेन्ट भाडामा लिएका थिए। खाने, बस्ने व्यवस्था मिलाएर उनीहरूले वेबसाइटमार्फत् विज्ञापन गरी ‘अनलाइन प्रोस्टिचुसन’को र्‍याकेट चलाउने गरेको पाइएको छ।

पंगेनीका अनुसार ‘अनलाइन प्रोस्टिचुसनको लागि उनीहरूले ह्वाट्सएपमा ग्रुप बनाउने गरेका थिए। त्यहाँ सम्पर्कमा आएका ग्राहकहरूलाई अनलाइनमै पैसा तिरेपछि उनीहरूले भनेको ठाउँमा युवती पुर्‍याउने गरेका थिए।

‘यौन धन्दाको लागि भाडामा लिएको अपार्टमेन्टमा सिसी क्यामरा जडान गर्नुका साथै पीडितहरूलाई नयाँ मोबाइल, भारतीय सिमसमेत उपलब्ध गराएर ह्वाट्सएप, फेसबुक आइडी बनाएर पासवर्ड आफैं राखेर अनलाइन निगरानी गर्ने गरेको पाइएको छ,’ पंगेनीले भने।

यौन धन्दा चलाउँदा कमाई भएको २० प्रतिशत मात्रै युवतीहरूलाई दिएर बाँकी ८० प्रतिशत रकम आफैं राख्ने गरेको पाइएको छ।

प्रहरीले भारत पुर्‍याइएका ९ जना युवतीहरूलाई २०७९ साल चैत ७ गते नै उद्धार गरेको थियो।

उद्धारपछि भण्डारी दम्पतीविरूद्ध तीन वटा मुद्दा दर्ता भएका थिए। ती मुद्दामा तीन जना प्रतिवादीहरू पक्राउ परेका थिए। उनीहरू अहिले पुर्पक्षका लागि कारागारमा छन्। उक्त मुद्दामा भण्डारी दम्पतीको खोजी भइरहे पनि भेटिएका थिएनन्।

अनुसन्धान जारी नै रहेको अवस्थामा स्थान परिवर्तन गरेर पुनस् नेपालबाट युवतीहरू झिकाएर भण्डारी दम्पतीले यौनधन्दा गरेको पाइएको पंगेनीले जानकारी दिए।

‘यौन व्यवसाय सञ्चालन गरीरहेको भन्ने सूचनाका आधारमा दिल्लीस्थित नेपाली दूतावास, भारतीय प्रहरी तथा किन् इन्डियासँगको समन्वय र सहयोगमा पुस १० गते दिल्लीबाट पाँच जना थप पीडितहरूको उद्धार गरिएको छ,’ पंगेनीले भने, ‘उनीहरूलाई नेपाल ल्याएर हाल सुरक्षित आवास गृहमा राखिएको छ।’

भण्डारी दम्पतीलाई काठमाडौं जिल्ला अदालतबाट थुनामा राख्ने अनुमति लिएर अनुसन्धान थालिएको पंगेनीले बताए।

Tags: