post-slider post-slider

लिबिया बाढी : सिङ्गो बस्ती नै समुद्रमा तानिएपछि...

Image
A A

काठमाडौं- लिबियामा सुनामी जसरी आएको विनाशकारी बाढीका कारण बगेर समुद्रमा पुगेका मानिसहरूको शव संकलन गर्न उद्धार टोलीहरूलाई हम्मेहम्मे परिरहेको बताइएको छ।

सर्वाधिक प्रभावित डेर्ना सहरको एम्बुलेन्स अधिकारीहरूका अनुसार त्यहाँ कम्तीमा २३ सय जनाको ज्यान गइसकेको छ।

डेर्नामा तटीय क्षेत्रमा आइतबार आइपुगेको एउटा समुद्री आँधीका कारण दुईवटा बाँध र चारवटा पुलहरू भत्किएका थिए।
त्यसपछि सहरको धेरै भाग बाढी र डुबानमा परेका थिए।

रेड क्रेसन्टले त्यहाँ १० हजार जनजाति मानिसहरू हराइरहेका प्रारम्भिक विवरण प्राप्त भएको र ज्यान गुमाउनेहरूको संख्या अझै बढ्न सक्ने जनाएको छ।

इजिप्टलगायतका देशहरूबाट बाढीपीडितहरूका लागि केही अन्तर्राष्ट्रिय राहत सामग्री भित्रिन थालेको छ। 

तर, लिबियाको राजनीतिक अवस्थाका कारण देश दुईवटा प्रतिद्वन्द्वी सरकारहरूका बीचमा विभाजित भएकाले उद्धारकार्य प्रभावित भएको छ।

अमेरिका, जर्मनी, इरान, इटली, कतार र टर्कीले राहत सामग्री पठाइसकेको वा पठाउन तयार रहेको बताएका छन्।

बाढी आउँदा मानिसहरूलाई बगाएर समुद्रमा पुर्‍याएको, केही घरको छतमा बसेर जोगिएका जस्ता हृदयविदारक विवरणहरू आइरहेका छन्।

सामूहिक चिहान

समाचारहरूमा आएका विवरणअनुसार डेर्ना सहरमा ज्यान गुमाएकाहरूको शव सामूहिक चिहानहरूमा समाधिस्थ गर्नुपरेको छ।

आइतबारको समुद्री आँधीपछि बाँध भत्किँदा उर्लेर आएको बाढीले सुनामीले जसरी मानिसहरूलाई समुद्रमा बगाएर लगेको घटनामा कम्तीमा २३ सय जनाको मृत्यु भएको जनाइएको छ।

बोरा र कम्बलहरूमा बेरिएका शवहरूलाई त्यहाँका समाधिस्थलमा मेसिनले खनेको ठूलो खाडलमा एकसाथ गाड्ने गरिएको छ।

उद्धार

डेर्नामा कार्यरत एक स्वयंसेवक मोहम्मद कमाटीले उद्धारकर्ताहरूले अझै पनि जीवित फेला पर्न सक्ने मानिसहरूको खोजी गरिरहेको जनाएका छन्।

जल इन्जिनियरिङविज्ञहरूले बताएअनुसार सबभन्दा पहिला डेर्ना सहरभन्दा १२ किलोमिटर परको बाँध भत्किएको र त्यसको पानी ठूलो वेगले तल उपत्यकामा बग्दा सहरनजिक रहेको अर्को बाँध पनि बगाएको हुन सक्ने सम्भावना छ।

उर्लेको बाढीको पानी

आइतबार राति अँध्यारोमा खिचिएको जस्तो देखिने भिडियो दृश्यहरूमा डेर्ना सहरमा बाढीको पानी उर्लेर बगेको र करिब १ लाख जनसंख्या भएको यो सहरमा पानीको कडा धारमा सवारीसाधनहरू बगिरहेको देखिन्छ।

बिहान उज्यालो भएपछिका दृश्यहरूमा बाढीले वितन्डा मच्चएका बस्तीहरू र हिलोले पुरिएका सडकहरू अनि भत्केका भवनहरू र पल्टिएर छरिएका मोटरहरू देख्न सकिन्छ।

 

Tags: