post-slider post-slider

सत्ताको नेतृत्वबारे किन ‘चिन्ता’ मा छन् प्रचण्ड?

Image
A A

काठमाडौं- जाजरकोट र रुकुम पश्चिमको भूकम्प प्रभावित क्षेत्रबाट काठमाडौं आइपुगे लगत्तै प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई भेट्न पुगेका सत्ता साझेदार नेपाली कांग्रेसका दुई महामन्त्रीहरूले शनिबार बालुवाटारमा कुराकानीको आरम्भमै प्रचण्डले आफ्नो कार्यकालबारे व्यक्त गरेको ‘चिन्ता’ बाट गरे।

‘हामीसँग भेट्ने बित्तिकै कुराकानी नै त्यही प्रसंगबाट सुरू भयो। उहाँले त्यस्तो बोल्नुभएको कुरा थाहा पाएपछि हामी आफैंले नै सोध्यौं,’ महामन्त्री विश्वप्रकाश शर्माले भने।

प्रधानमन्त्रीलाई भेट्न पुगेका महामन्त्री गगन थापा, शर्मा र राष्ट्रिय पुर्निर्माण प्राधिकरणका पूर्वप्रमुख कार्यकारी अधिकृत गोविन्द पोखरेलले ११ बुँदे ध्यानाकर्षणपत्र बुझाएका छन्।

प्रधानमन्त्रीको पार्टी नेकपा माओवादी केन्द्रले सुरू गरेको जनतासँग माओवादी अभियानको कीर्तिपुरमा आयोजित कार्यक्रममा प्रचण्डले सरकारको स्थायित्वबारे अभिव्यक्ति दिएका थिए।

‘कति दिन सरकार रहन्छ, प्रधानमन्त्री रहन्छ, त्यो मुख्य कुरा होइन। मुख्य कुरा सुशासन, सामजिक न्याय र समृद्धिका पक्षमा हामीले कति राम्रो काम सुरू गर्छौं त्यो हो,’ आफू सरकारको नेतृत्वमा रहँदा राम्रो कामको सुरूवात गर्न चाहेको दाबी गर्दै प्रचण्डले भनेका थिए।

त्यसअघि उनले माओवादी शान्ति प्रक्रियामा आएपछि आफूले चुनाव लडेका दुवै निर्वाचन क्षेत्रमा आफू दुई दिनको अन्तरालमा पुगेको भन्दै २०८४ सालको निर्वाचनका लागि पार्टीको अवस्था सुधार्न नेता र कार्यकर्तालाई आग्रह गरे।

शुक्रबार रोल्पाको लिवाङमा पार्टीको सभालाई सम्बोधन गरेका प्रचण्ड शनिबार तत्कालीन काठमाडौं निर्वाचन क्षेत्र नम्बर १० अन्तर्गत पर्ने कीर्तिपुर पुगेका थिए।

प्रचण्डले २०६४ सालको पहिलो संविधानसभाको निर्वाचन कीर्तिपुरसमेत समेटिएको काठमाडौं–१० र रोल्पा–२ दुवै स्थानबाट निर्वाचित भएका थिए।

शर्माका अनुसार प्रचण्डले आफूलाई सरकारबाट हट्न दबाब आएर त्यस्तो अभिव्यक्ति नदिएको दाबी गरेका थिए।

‘विगतमा पनि पाँच वर्ष कोही टिकेको छैन। मैले पनि पाँच वर्ष सरकार चलाउने होइन,’ प्रचण्डको भनाइ उद्धृत गर्दै शर्माले भने,‘तर अहिले कुनै खतरा आयो भनेर त्यसो भनेको होइन भन्ने कुरा उहाँले हामीसँग गर्नुभयो।’

प्रचण्डले सरकारका पछिसम्म रहने कुरा सोचेर काममा ढिलो गर्न नहुने सन्दर्भमा आफूले त्यस्तो अभिव्यक्ति दिएको प्रस्टीकरण आफूहरूलाई दिएको कांग्रेस नेताको भनाइ छ।

‘गठबन्धनमा कुनै गम्भीर परिस्थिति वा असमझदारी आएर उहाँले त्यसो भनेको जस्तो हामीलाई पनि लाग्दैन। अहिले गठबन्धनमा त्यस्तो स्थिति पनि छैन,’ शर्मा भन्छन्।

यसअघि प्रचण्ड प्रधानमन्त्री रहँदा उनको प्रमुख राजनीतिक सल्लाहकार रहेर काम गरिसकेका पूर्वमन्त्री चक्रपाणि खनाल प्रचण्डको यस्तो अभिव्यक्तिपछाडि प्रमुख तीन कारण रहेको बताउँछन्।

उनका अनुसार संसदमा कम सिट संख्या भएको माओवादीलाई सरकारको नेतृत्व गुम्ने आशंका सँधै भइरहन्छ।

तर, अहिले प्रचण्डले व्यक्त गरेको चिन्ताको पहिलो कारण कांग्रेसभित्र देखिएको खटपट रहेको उनी बताउँछन्।

खनालका अनुसार दोस्रो कारण माओवादीले अघि सारेको सुशासन र भ्रष्टाचारविरोधी अभियान हो।

त्यसमा मुछिएका अन्य पार्टीका प्रभावशाली नेताहरूका कारण आफ्नो सरकारको स्थायित्वबारे प्रचण्डले पार्टी पंक्तिभित्र चिन्ता व्यक्त गर्ने गरेका छन्।

खनाल भ्रष्टाचारमा आरोपित भएका कतिपय व्यक्तिहरूको समर्थनमा प्रतिपक्षी नेकपा एमालेका नेताहरूले पनि सार्वजनिक रूपमै अभिव्यक्ति दिएको बताउँछन्।

कतिपय माओवादी नेताहरूका अनुसार यसअघि कांग्रेस सांसद सुनिल शर्मालाई नक्कली शैक्षिक प्रमाणपत्रको आरोपमा प्रहरीले पक्राउ गरेपछि कांग्रेसका केही नेताहरू पनि सरकारको नेतृत्वसँग असन्तुष्ट छन्।

उनीहरू त्यसलाई कोसी प्रदेसको राजनीतिसँग पनि जोडेर व्याख्या गर्छन्।

जानकारहरूका अनुसार शर्मासँग निकट ठानिएका कांग्रेस नेता शेखर कोइरालाले कोसीमा माओवादीलाई सरकार बनाउन सहयोग नगरी एमालेको साथ लिएर आफ्नै क्षेत्रका नेतालाई मुख्यमन्त्री बनाएका थिए।

खनालका अनुसार तेस्रो चिन्ता अमेरिकी सहायता परियोजना एमसिसी पारित गर्ने पक्षमा उभिएपछि प्रचण्डले आफूमाथि भू–राजनीतिक दबाब बढेको महसुस गरेका छन्।

प्रचण्डको चीन भ्रमणमा भएका सहमतिबारे थप छलफलका लागि चीनले उच्चपदस्थ नेताहरूको सट्टा तिब्बत हेर्ने सेक्रेटरीलाई पठाएको विषयलाई कतिपय कूटनीतिका जानकारहरूले उनलाई चीनले कम महत्व दिएको विषयको रूपमा अथ्र्याएका छन्।

 

Tags: