post-slider post-slider

छठ पर्वको दोस्रो दिन आज खरना मनाइँदै

Image
A A

जनकपुरधाम- अराध्यदेव सूर्यको उपासना गरी मनाइने छठ पर्वको दोस्रो दिन आज खरना मनाइँदै छ।

चार दिनसम्म मनाइने छठ पर्वको दोस्रो दिन आज खरना मनाउन लागिएको हो।

खरनालाई छठ पर्वको मुख्य विधिसमेत भन्ने गरिन्छ। पापको क्षय भनिएको खरनामा गाईको गोबरले लिपपोत गरी अरबा चामलको पिठोबाट तयार पारिएको अरिपणले भूमि सुशोभित गरी ब्रतालु दिनभर निर्जला ब्रत बस्छन्।

खरानाका दिन ब्रतालुहरू बिहानैदेखि ब्रतबसी साँझको समयमा सफासुग्घर घरमा पूजा गर्ने गर्छन्।

सख्खरको खीर, मुला, मिठाइलगायतका सामग्री खरनाको प्रसादका रूपमा चढाइन्छ। ब्रतालुहरू खरना पूजापछि यही प्रसाद ग्रहण गरेर उदाउँदो सूर्यलाई अघ्र्य नदिउन्जेल निराहार ब्रत बस्नुपर्ने हुन्छ।

तेस्रो दिन अस्ताउँदो र चौथो दिन उदाउँदो सूर्यलाई अघ्र्य दिने विधि गरिन्छ।

गहुँ र चामल ओखल, जाँतो वा ढिकीमा कुटेर विभिन्न प्रसाद सामग्री तयार पारिन्छ। 

छठ पर्वमा अन्नबाहेक फलफूल, ठकुआ, भुसवा, खजुरी, पेरूकिया तथा मूला गाजर, बेसारको गाँठो, ज्यामिर, नरिवल, सुन्तला, केरा, नाङ्गलो, कोनिया, सरबा, ढकना, माटोको हात्ती ठूलो ढाकीमा राखी परिवारका सम्पूर्ण सदस्य लोकगीत गाउँदै पूजाका लागि जलासयमा पुग्ने गर्छन्।

पूजन सामग्रीहरूजलासय किनारमा राख्नुअघि ब्रतालुहरू त्यो ठाउँलाई पाँचपटक  साष्टङ्क दण्डवत गर्छन्।

अघ्र्य दिने ठाउँलाई परिवारका सदस्यले पहिले नै सरसफाइ गरिसकेका हुन्छन्।

यो पर्वमा सूर्यको उपासनाले सन्तान, निरोगिता, सुख, समृद्धि र चर्म रोग निको हुने विश्वास रहेको छ।

सत्य र अहिंसाप्रति मानवको रूची बढाउने तथा सबै जीवप्रति सहानुभूति राख्न अभिप्रेरित  गर्नु यस पर्वको मुख्य विशेषता हो। सूर्य उपासनालाई परम्पराको मोहक पद्धति मानिएको छ।

 

 

Tags: