post-slider post-slider

अन्तर्घात गर्नेविरूद्ध २१ सय उजुरी, ३५ को कारबाही फिर्ता

Image
A A

काठमाडौं- नेपाली कांग्रेसमा गत निर्वाचनमा पार्टी र गठबन्धनका उम्मेदवारविरूद्ध अन्तर्घात गर्ने २ हजार १ सय नेता कार्यकर्ताविरूद्ध उजुरी परेको छ।

निर्वाचनका बेला पार्टीले गरेको निर्णय नमान्ने, पार्टीका उम्मेदवारविरूद्ध उम्मेदवारी दिने  र पार्टीका उम्मेदवारलाई पराजित गराउन भूमिका खेल्ने नेता कार्यकर्ताविरूद्ध ४६ जिल्लाबाट उजुरी परेको हो।

केन्द्रीय समितिको जारी बैठकमा केन्द्रीय अनुशासन समितिका संंयोजक आनन्द ढुंगानाले ४६ जिल्लाबाट २ हजार १ सय नेताविरूद्ध उजुरी परेको जानकारी दिएका छन्।

उजुरी परेकामध्ये ३५ जनाको कारबाही फुकुवाका लागि सिफारिस गरिएको उनले बताए।

‘संघीय संसद, प्रदेससभा र स्थानीय तहमा बागी उम्मेदवारी दिएर निर्वाचित हुनुभएका साथीहरूको सभापतिज्यूको मौखिक निर्देशनअनुसार कारबाही फिर्ताका लागि सिफारिस भएको छ,’ ढुंगानाले भने।

उनले ३५ जनाको कारबाही फुकुवा भएको बताए।

‘बागी भएर चुनाव जितेर पनि फेरि कांग्रेसमै बसेर काम गर्ने भनी निवेदन दिनुभएका ३५ जना साथीहरूको कारबाही फिर्ता भएको छ,’ ढुंगानाले भने।

विधानमा पार्टी हितविपरित गर्नेलाई कारबाही गर्ने व्यवस्था भए पनि उजुरीमाथि छानबिन भइ नसकेको उनको भनाइ छ।

अनुशासन समितिले पूर्णता पाउन नसक्दा उजुरीमाथि छानबिन हुन नसकेको ढुंगानाले बताए।

‘अनुशासन समितिले पूर्णता पाउन नसक्दा उजुरीहरूमाथि छानबिन हुन सकेन। अब केन्द्रीय समितिले जे निर्णय गर्छ, त्यही हुन्छ,’ उनले भने।

 

Tags: