सहकारी पीडितहरूको आन्दोलनमा प्रहरीको हस्तक्षेप
काठमाडौं- सहकारी पीडितहरूको आन्दोलनमा प्रहरीले हस्तक्षेप गरेको छ।
आइतबार माइतीघर क्षेत्रमा र्याली निकाल्ने क्रममा सहकारी पीडितहरूको आन्दोलनमा प्रहरीले हस्तक्षेप गरेको हो।
सडकमा अवरोध पुर्याएको भन्दै प्रहरीले केही प्रदर्शनकारीहरूलाई नियन्त्रणमा समेत लिएको छ।
सहकारी पीडितहरूले माइतीघर क्षेत्रमा र्याली निकाल्ने क्रममा केहीबेर यातायात अवरूद्ध भएको थियो।
सहकारी पीडित बचतकर्ता महासंघ संघर्ष समितिले समस्या हल गर्न माग गर्दै आइतबार काठमाडौंमा प्रदर्शन गरेको हो।
संघर्ष समितिको अगुवाइमा सहकारी पीडितहरू बचत फिर्ता गर्नुपर्ने, फरार सञ्चालकलाई कारबाही गर्न, बचकर्ताको समस्या छिटोभन्दा छिटो समाधान गर्न, सञ्चालकलाई राजनीतिक संरक्षण बन्द गनुपर्नेलगायतका माग राख्दै प्रदर्शनमा उत्रिएका हुन्।
माइतीघरबाट सुरू भएको र्याली बानेश्वरमा पुगेर कोणसभामा परिणत भएको थियो।
सहकारी क्षेत्रका समस्याका कारण देशभरका सहकारी पीडितहरू लामो समयदेखि आन्दोलनमा छन्।