post-slider post-slider

इमरान खान कसरी पाकिस्तानी सेनाको ‘रक्षक’ बाट ‘शत्रु’ बने

Image
A A

काठमाडौं - धेरै वर्षदेखि पाकिस्तानको सैन्य संस्थापनले इमरान खानलाई देशको ‘रक्षक’ मानेको थियो। तर, लेखक तथा पत्रकार मोहम्मद हनिफका अनुसार सरकारको नेतृत्वबाट बाहिरिएको एक वर्षमै उनले सेनका लागि अपराजेय चुनौती बन्ने छाँट देखाएका छन् र पाकिस्तानी सेनाले इमरानको क्रोधबाट आफूलाई जोगाउन सम्पूर्ण शक्ति प्रयोग गरिरहेको छ।

इमरान र उनको पार्टीले देशव्यापी दमन खेपिरहँदा पाकिस्तान ठप्पजस्तै भएको छ।

चर्को महँगीबाट आक्रान्त पाकिस्तानमा अहिले इतिहासमै सबैभन्दा गर्मी याम चलिरहेको छ। देशको सम्पूर्ण ध्यान अब इमरानले के गर्लान् र उनलाई दबाउन सैन्य संस्थापनले के गर्न सक्छ भन्नेमा देखिन्छ।

एक वर्षभन्दा अघि उनलाई सत्ताबाट हटाइएपछि उनका समर्थकहरूले इमरानलाई पक्राउ गरियो भने देशमा ‘आगो बाल्ने’ चेतावनी दिएका थिए।

धेरै पटकको असफल प्रयासपछि अर्धसैनिक बलको एउटा समूहले मे ९ मा उनलाई पक्राउ ग¥यो।

इमरान पक्राउ पर्दा देशमा डढेलो चाहिँ फैलिएन तर उनका समर्थहरूले सैनिक शिविरमा धावा बोले।

पाकिस्तानका सम्भवतः सबैभन्दा सुरक्षित ठानिएको जेनरल हेडक्वार्टर्स भनिने सैन्य मुख्यालय क्षेत्रमा मानिसहरू प्रवेश गरेर सैनिक लोगो भएका साइनबोर्डहरू कुल्चिए।

लाहोरमा एक सैन जनरलको घरमा सुसपैठ भयो।

इमरानका समर्थकहरूले ती वरिष्ठ सैन्य अधिकारीको घरमा भएका काठका सामान र कारमा आगो लगाएको भिडियो बनाए। एक प्रदर्शनकारी ती जनरलको पोसाक लगाएर बाहिरिए भने अर्का एक जनाले उनको घरमा पालिएको मयुर लिएर हिँडे।

यसमा ‘क्रान्ति’ का सबै संकेत भए पनि यो वास्तवमा क्रान्ति चाहिँ थिएन। पहिला सेनाको सद्भाव पाएका इमरान पछि उसैबाट परित्यक्त भए। उनका समर्थकहरू त्यति बेला त्यसको प्रतिशोध लिन खोज्दै थिए।

तसर्थ त्यो क्रान्तिभन्दा पनि पहिला प्रेममा परेका दुई पक्षबीच झगडा थियो।

पाकिस्तानमा प्रायः सबैजसो प्रधानमन्त्रीको सेनासँग विवाद हुनु परम्पराजस्तो बनिसकेको छ।

देशको पहिलो निर्वाचित प्रधानमन्त्री जुल्फिकर अली भुट्टोलाई फाँसी दिइयो। उनकी छोरी बेनजिर भुट्टोलाई दुईपटक प्रधानमन्त्रीबाट हटाइयो। 

एक आत्मघाती बम आक्रमणमा उनको ज्यान गयो। तर, त्यो घटनाबारे कहिल्यै पूर्ण अनुसन्धान भएन।

नवाज शरीफ पनि प्रधानमन्त्रीबाट अपदस्थ भए, जेल र अन्ततः निर्वासनमा गए। अहिले पनि उनी निर्वासनमा छन्। उनले आफ्ना भाय शहबाज शरीफलाई अघि सारेर नेपथ्यबाट शासन चलाइरहेका छन्। यद्यपि उनी देश फर्किन सकिरहेका छैनन्।

इमरान पक्राउ परेपछि उनका समर्थकहरूले मूलधारका राजनीतिक शक्तिहरूले अहिलेसम् मगर्न नसकेको काम गरे।

उनीहरू सडक प्रदर्शनमा ओलिएनन्। बरू सैनिक शिविरहरूमा प्रवेश गरे अनि पाकिस्तानी जनतालाई त्यहाँका सैनिक जनरलहरू कसरी बसिरहेका छन् भनेर देखाए– ठूलो बङ्गला, पौडीपोखरी र मयुर डुल्ने ठूला घाँसेमैदा भएको परिसर।

आफूलाई पक्राउ गर्नुअघि इमरानले पाकिस्तानका सेना प्रमुख जनरल आसिम मुनीरप्रति लक्षित गर्दै आफ्नो राजनीतिक पार्टीलाई समाप्त गर्न खोजेको आरोप लगाएका थिए।

त्यसअघि इमरानलाई सत्तामा ल्याउन र टिकाउन महत्वपूर्ण भूमिका खेलेका सेनाका पूर्वप्रमुख जनरल बाजवालाई ‘देशद्रोही’ को संज्ञा दिएका थिए।

बाजवाले आफ्नो हत्या गर्ने असफल प्रयास गरेको भन्दै इमरानले पाकिस्तानको गुप्तचर निकायका एक जनरलको पनि नाम लिए।

खानका समर्थकहरूले प्रदर्शनहरूका क्रममा ती जनरलको नाम लिँदै उनलाई ‘डर्टी ह्यारी’ को संज्ञा दिए।

फेरि इमरानले जित्ने प्रक्षेपण

पाकिस्तानका धेरै राजनीतिज्ञहरूले विगतमा पनि त्यहाँको सेनाको आलोचना गरेका थिए, तर एक संस्थाको रूपमा। पाकिस्तानीहरूले सेनाका उच्च अधिकारीहरूको घरमा आगो लगाइदिएको देखेका थिएनन्।

उनीहरूले महिला प्रदर्शनकारीहरूले सैन्य मुख्यालयको द्वार हल्लाउँदै र सजाएर राखिएका सैनिकका प्रतिमाहरू ढाल्दै गरेको पनि देखेका थिएनन्।

खानको विपक्षमा रहेका झन्डै सबै राजनीतिक दलहरू मिलेर बनेको गठबन्धन सरकारले यसको प्रतिरोध गर्नु थियो।

धेरै जनमत सर्वेक्षणहरू निर्वाचनमा पुनः इमरानले जित्ने प्रक्षेपण गरेका छन्। त्यसैले सरकार निर्वाचन नगराउने प्रयासमा छ।

अहिले सरकारसमर्थित धेरै राजनीतिज्ञहरूले इमरानको पाकिस्तान तहरीक ए इन्साफ नामको पार्टीमाथि सिधै प्रतिबन्ध लगाउनुपर्ने माग गरिरहेका छन्। यो नामको अर्थ हुन्छ ‘न्यायका लागि आन्दोलन’।

सेनाको विरोध गर्नेहरू समस्यामा

पाकिस्तानको विगत हेर्दा सेनाको विरोध गर्ने नेताहरूसँग तत्कालै प्रतिशोध लिइएको देखिन्छ।

तालिबानप्रति पाकिस्तानी सेनाको सहानुभूतिको विरोध गरेका निर्वाचित सांसद अली वाजीरलाई दुई वर्ष जेल हालियो। त्यसपछि उनलाई राष्ट्रियसभामा भाग लिनबाट रोकियो।

बलोचिस्तान प्रान्तका हजारौं राजनीतिक कार्यकर्ताहरू जबरजस्ती बेपत्ता बनाइएको छन् र पाकिस्तानको अदालत तथा मूलधारका राजनीतिक दलहरूले उनीहरूको पीडाबारे चासो दिएका छैनन्।

त्यसो भए दर्जन अभियोग खेपिरहेका इमरान कसरी खुला हिँडडुल गरिरहेका छन् त?

उनले त्यहाँका सैनि संस्थापनलाई नै धु्रवीकृत गरिदिएको भन्ने बुझाइ पनि कसैकसैमा छ।

कतिपय अधिकारी र उनीहरूका परिवार नै इमरानप्रति मोहित देखिएका छन्। न्यायालयले उनलाई धरौटीमा छोड्ने अवधि लम्ब्याइरहेको छ। 

एक दिन हिरासतमा बिताएपछि इमरानलाई पाकिस्तानका न्यायाधीशले अदालतमा बोलाएर भने– तपाईंलाई देख्दा खुशी लाग्यो।

उनले इमरानलाई राज्यको अतिथिगृहमा राख्न आदेश दिएर त्यसको भोलिपल्ट अर्का न्यायाधीशले उनलाई रिहा गर्न आदेश दिए।

पाकिस्तानमा राजनीतिक नेता र पार्टीहरूलाई घृणा गरिने निर्वाच्न क्षेत्रमा इमरानले ठूलो जित हासिल गरे। स्वच्छ शासन र न्यायको उनको नारा लोकप्रिय बन्यो तर उनी सरकारमा हुँदा भ्रष्टाचार घट्नुको सट्टा अझै बढ्यो।

उनले पनि आफ्नो धेरै राजनीतिक विरोधीहरूलाई जेल हाले।

के खान सेनाविरोधी हुन्?

उनलाई सरकारबाट हटाइएपछि उनका समर्थकहरू उद्वेलित बनेका छन्। इमरानका अधिकांश समर्थकहरू महिला र युवा छन् जसले यसअघि कहिल्यै पनि मतदान गरेका छैनन् र कुनै पनि राजनीतिक ¥यालीमा संलग्न भएका छैनन्।

इमरानका समर्थकहरूलाई राजनीतिबारे परिपक्व बुझाइको अभाव रहेको र वर्तमान समस्याको ऐतिहासिक पृष्ठभूमिबारे ज्ञान नभएको र त्यसै कारण हालको देशको अवस्था आजसम्म कहिल्यै नरहेको दाबी गर्ने गरेको आरोप लगाइन्छ।

तर उनीहरू आफूलाई सुधारवादी अभियानकर्मीको रूपमा चिनाउँछन् र देशलाई भ्रष्ट राजनीतिकर्मीबाट मुक्ति दिलाउन चाहेको बताउँछन्।

इमरानले जस्तै उनीहरू पनि एक समय सेनालाई मन पराउँथे। अहिले उनीहरू सबै कुराका लागि सेना जिम्मेवार रहेको ठान्छन्।

इमरानले बारम्बार सेनाको नेतृत्वविरूद्ध आक्रामक अभिव्यक्ति दिए पनि धेरैले उनी पनि सेनाको अधिकारी कटौती गर्ने पक्षमा नरहेको ठानेका छन्।

उनीहरूका अनुसार बरू उनी सैनिक नेतृत्वले विगतमा जस्तै आफू र आफ्नो पार्टीलाई साथ देओस् भन्ने चाहन्छन्।

तर मे ९ को दंगापछि सेनाको उच्च नेतृत्वले इमरान पक्षले सीमा नाघेको ठानिरहेको देखिन्छ। अहिलेका प्रधान सेनापतिले त्यसलाई ‘पाकिस्तानको इतिहासमा कालो दिन’ भएको बताएका छन्।

इमरान पाकिस्तानमा नयाँ शैलीको लोकप्रियतावादी राजनीतिमा प्रवेश गरेका हुनसक्छन्। सेनाले पनि उनका पूर्ववर्तीहरूकै शैलमिा उनलाई दबाउने प्रयास गरिरहेको छ।

दर्जनौं भ्रष्टाचारका मुद्दाहरू, गिरफ्तारी र सेनाविरूद्ध आक्रमणमार्फत सेनाले इमरानले हद नाघेको स्पष्ट सन्देश दिइरहेको छ। सेनाले आफ्ना सहिदहरूबारे एउटा गीत सार्वजनिक गरेर मानिसहरूको मन जित्न खोजिरहेको छ।

उसले मे ९ मा सैन्य संरचनामा भएका आक्रमणको प्रत्युत्तरमा सहिदहरूको सम्मान दिवस मनाएको छ। तर, आलोचकहरूले त्यस दिन कुनै पनि सैनिक नमारिएको र सैनिक जनरलहरूका भव्य बङ्गलामा मात्रै क्षति पुगेको बताएका छन्।

प्रमुख सहरका मुख्य सडकहरूमा सेनाको सदाबहार प्रतिबद्धताको प्रशंसा गरिएका पोस्टरहरू टाँगिएका छन्। सेनाले विगतमा आफूलाई आक्रमण गर्ने धार्मिक समूहहरूलाई पनि सडकमा ल्याएको छ।

गत साता उनीहरूले सेनाप्रति आफ्नो सदभाव व्यक्त गरे।

सैनिकहरूको परिवारभित्र पनि इमरानका समर्थक

पाकिस्तानको सेनाले आफ्नो फौजमा पनि खानका समर्थकहरू छन् कि भनेर खोजी गरिरहेको छ।

फेसन डिजाइनबाट राजनीतिमा प्रवेश गरेकी खादिजा शाह मे ९ को दंगामा सहभागी भएको भनेर कानुन कार्यान्वयनकारी निकायको निगरानीमा परेकी महिला हुन्।

उनी आफैं सेनाका पूर्वप्रमुखकी नातिनी हुन् र सैनिक परिवारमै हुुर्किएकी हुन्। उनले आफूले कुनै पनि अपराध नगरेको बताउँदै आएकी छन्।

तर, यसपटक इमरानले कतिपय सैनिक परिवारका सन्तानलाई नै आफ्नै घरमा आगो लगाउने हदसम्म मोहित बनाएको स्पष्ट देखाउँछ।

यसले सेनाका परिवारहरूलाई खानको राजनीतिबाट टाढै रहन स्पष्ट सन्देश दिएको छ।

सेनाले खानको पिटिआइ पार्टीका धेरै नेता तथा कार्यकर्तालाई पक्राउ गरेर र सैनिक शिविरहरूमा भएका आक्रमणमा सहभागीहरूलाई सैनिक अदालतमा मुद्दा चलाएर उनको पार्टीलाई छिन्नभिन्न गर्ने प्रयास गरिरहेको छ।

उच्च तहका धेरै नेताहरू खानको पार्टी छोड्ने दबाबमा छन्। कतिपयले छाडिसकेका पनि छन्। उनीहरूले पाकिस्तानको सेनासँग जुध्ने इमरानको शैलीको आलोचना गरेका छन्।

ऐतिहासिक रूपमा हेर्दा पाकिस्तानको सेना सर्वसाधारण नागरिकहरूसँगको विवादमा सँधै आफ्नो तरिकाबाट माथि पर्दै आएको छ।

इमरानले आफ्ना कार्यकर्ताहरूलाई ‘दासताको जीवनभन्दा मृत्यु रोज’ भनिरहेका छन्।

यो राजनीतिक गतिरोधका कारण पीडा भोग्ने र भोगिरहने भनेका पाकिस्तानका सर्वसाधारण जनता नै हुन्। (बिबिसीबाट)

 

Tags: