post-slider post-slider

ललिता निवास प्रकरण : आजदेखि आरोपितहरूको बयान

Image
A A

काठमाडौं- बालुवाटारस्थित ललिता निवासको सरकारी जग्गा हिनामिनासम्बन्धी मुद्दामा सोमबारदेखि जिल्ला अदालतमा बयान सुरू हुने भएको छ।

ललिता निवासको सरकारी जग्गा हिनामिना प्रकरणमा जिल्ला सरकारी वकिल कार्यालय काठमाडौंले दर्ता गरेको कीर्ते मुद्दामा बयान हुन लागेको हो।

न्यायाधीश भोलानाथ ढकालको इजलासमा आरोपितहरूको बयान हुने र त्यसपछि थुनछेक बहस हुने जिल्ला अदालत काठमाडौंका श्रेस्तेदार कौशलेश्वर ज्ञवालीले बताए।

प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) ले झन्डै दुई महिनाको अनुसन्धानपछि बुझाएको प्रतिवेदनका आधारमा सरकारी वकिल कार्यालयले आइतबार पूर्वमन्त्रीहरू विजयकुमार गच्छदार, चन्द्रदेव जोशी, डम्बर चेम्जोङ र बहालवाला सचिव कृष्णबहादुर राउतसहित २९० जनालाई प्रतिवादी बनाउँदै अभियोगपत्र दर्ता गरेको थियो।

सरकारी वकिल कार्यालयले अभियोगपत्रसँगै १८ जनालाई अदालतमा पेस गरेको छ। उनीहरूलाई न्यायाधीशसमक्ष बयान गराइनेछ। 

ललिता निवास जग्गा हिनामिना प्रकरणमा सिआइबीले संगठित र सरकारी कागजात कीर्तेसम्बन्धी अभियोगमा मुद्दा चलाउन सरकारी वकिल कार्यालयलाई राय दिएको थियो।

सरकारी वकिल कार्यालयले भने आरोपितहरूविरूद्ध कीर्ते मुद्दामात्रै दर्ता गराएको छ। संगठित कसुरको मुद्दा चलाउन प्रमाण नपुग्ने भन्दै सरकारी वकिल कार्यालयले कीर्ते मुद्दा चलाएको हो।

ललिता निवास परिसरको १४३ रोपनी ६ आना ३ पैसा ३ दाम हिनामिना भएको ब्युरोको अनुसन्धानमा खुलेको छ।

 

Tags: