म २०८३ असारसम्म प्रधानमन्त्री, त्यसपछि देउवा : ओली
काठमाडौं - प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो आशन्न चीन भ्रमण अत्यन्त सफल हुने बताएका छन्।
नेकपा एमालेका उपत्यकाका तीन जिल्ला कमिटीले शुक्रबार दरबारमार्गमा आयोजना गरेको जागरणसभालाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले यही मंसिर १७ गतेदेखि हुने छिमेकी चीनको भ्रमण केवल घुम्नका लागि नभई देश र जनताको हितमा केन्द्रित हुने बताए।
उनले अहिले कतैबाट पनि सकेसम्म ऋण नलिने र आफ्नो उत्पादन वृद्धि गर्ने नीति लिइने पनि स्पष्ट गरेका छन्।
ओलीले अनेक षड्यन्त्र र भ्रम चिरेर आफूहरू विकास, समृद्धि र सुशासनको संकल्प पूरा गर्ने बाटोमा ढुक्कका साथ अघि बढेको बताए।
ओलीले वर्तमान सरकारको गठबन्धन आगामी निर्वाचनसम्म रहने स्पष्ट गर्दै अराजकता र अस्थिरताको विपक्षमा रहेर देशमा साम्प्रदायिक सद्भाव कायम गरी आर्थिक समृद्धि ल्याउन सबै लाग्नुपर्नेमा जोड दिए।
उनले कुनै पनि प्रकारको ठगी, तस्करी, भ्रष्टाचार, चरित्र हत्या र अश्लीलता स्वीकार्य नहुने जनाउँदै देशको अधोगतिलाई माथि लान एमाले र नेपाली काङ्ग्रेसको सहयात्रा गरिएको बताए।
ओलीले ८४ सालको चुनावसम्म अहिलेकै गठबन्धन कायम रहने बताए।
एमाले र कांग्रेस प्रतिस्पर्धी दल भए पनि अहिले देशलाई अराजकतातर्फ लान खोजिएको, लोकतन्त्रलाई समाप्त पार्न खोजिएपछि एकतालाई महत्व दिँदै एक भएको बताए।
यसबीचमा सरकारले बहुमत नपाउने, दसैं देख्न नपाउने, तिहारी पछि ढल्ने बताइएको भए पनि सरकार चलिरहेको भन्दै यो गठबन्धन २०८४ को निर्वाचनसम्म चल्ने बताए।
उनले आफू २०८३ को असारसम्म प्रधानमन्त्री बन्ने र त्यसपछि कांग्रेस सभापति शेरबहादुर देउवा प्रधानमन्त्री बन्ने स्पष्ट गरे।
प्रधानमन्त्री ओलीले एमाले आज सत्ता र सडकमा पनि रहेको बताउँदै पूर्वजहरुले बगाएको रगत खेर जान नदिने बताएका छन्। उनले एमाले देशको पहरेदारको रुपमा रहेको भन्दै अहिलेको समीकरणलाई कसैले हल्लाउन नसक्ने बताए।