post-slider post-slider

नारायणगढ–मुग्लिङ सडक खण्डमा नयाँ जोखिम झन् ‘चुनौतीपूर्ण’

Image
A A

काठमाडौं- नारायणगढ–मुग्लिङ सडकको विस्तार र स्तरोन्नति गरे पनि सास्ती अन्त्य भएको छैन।

अघिल्लो वर्षजस्तै यस वर्ष पनि पहिरोले पटक–पटक लामो समयसम्म बाटो अवरूद्ध हुने घटना दोहरिन थालेको छ।

जानकारहरूका अनुसार ३६ किलोमिटर लामो यो सडक खण्डमा नयाँ–नयाँ जोखिमहरू देखा परेका छन्। र, तीमध्ये केही चुनौतीपूर्ण ठानिएका छन्।

निर्माण कम्पनीले काम सम्पन्न गरेर यो सडक तीन वर्षअघि सरकारलाई हस्तान्तरण गरेको हो।

निर्माणका क्रममा पहिरो जाने सम्भावित ठाउँ पहिचान गरेर भिरालो जमिन संरक्षण गर्ने काम गरिएको थियो। त्यो बेला २७–२८ ठाउँमा नियन्त्रण भयो।

सडक डिभिजन कार्यालय भरपुरका प्रमुख रमेशप्रसाद पौडेलका अनुसार यतिबेला नयाँ–नयाँ ठाउँमा पहिरो आएको हो।

जानकारहरूका अनुसार २० वर्षअघि करिब ७५ ठाउँमा पहिरो झरेको थियो। यातायात पूर्ण सञ्चालनमा आउन कैयौं दिन लागेको थियो।

सडक विभागलले २१ किलोमिटर भनिने मौरी खोला र १८ किलोमिटर भन्ने स्थानलाई ‘चुनौतीपूर्ण जोखिम रहेको’ भनी पहिचान गरेको छ।

पहाड खस्किरहेको मौरी खोला क्षेत्रको अध्ययन भइरहेको सडक डिभिजन कार्यालयको भनाइ छ। 

१८ किलोमिटर भन्ने ठाउँको माथि नगरपालिकाले बाटो खनिदिएकाले लेदो बगेर झर्ने गरेको र यस्तो समस्या तीन–चार ठाउँमा देखिएको पौडेलले बताएका छन्।

विश्व बैंकले मौरी खोला क्षेत्रको अध्ययन गराइरहेको छ। 

सडकको माथिल्लो भागबाट विभिन्न ठाउँमा झर्ने पहिरो नियन्त्रणको प्रयास पटक–पटक भएका थिए।

निर्माण कम्पनीले सडक स्तरोन्नतिको काम सम्पन्न गरेपछि तीन वर्षमा विभिन्न कम्पनीले पहिरो नियन्त्रणको काम गरेका छन्। त्यसमा करिब एक अर्ब रूपैयाँ खर्च भइसकेको छ।

चट्टान झर्न नदिन रड गाडेर जाली लगाउनेदेखि सडक भत्किन नदिन नदी किनारमा पाइलिङ गर्ने र आरसिसी वाल लगाउने काम गरिएको अधिकारीहरूले जनाएका छन्।

तर, सडक डिभिजन कार्यालय भरतपुरका प्रमुख पौडेलका अनुसार त्रिशुलीको धारले बाटोको तल्लो भागमा बर्सेनि गर्ने कटान चुनौतीपूर्ण देखिन्छ।

त्रिशुलीको धारका कारण पाँच–छ ठाउँमा बाटो दबेको छ भने पहाड नै खस्किएको देखिएको छ। 

माथिबाट झरेको पहिरो रोक्न सकिए पनि बाटोको तल त्रिशुलीले बिस्तारै काट्दा आउने जोखिम चुनौतीपूर्ण देखिएको पौडेलको भनाइ छ।

 

Tags: