post-slider post-slider

बजेटको पक्षमा मतदान गर्न एकीकृत समाजवादीको ह्विप

Image
A A

काठमाडौं- सत्ता साझेदार दल नेकपा (एकीकृत समाजवादी) ले बजेटको पक्षमा मतदान गर्न आफ्ना सांसदहरूलाई ह्विप जारी गरेको छ।

एकीकृत समाजवादी पार्टीका मुख्य सचेतक मेटमणि चौधरीले बजेटको पक्षमा मतदान गर्न सांसदहरूलाई ह्विप लगाइएको जानकारी दिए।

उनले बुधबार बिहान बसेको संसदीय दलको बैठकले बजेटका पक्षमा मतदान गर्न ह्विप लगाउने निर्णय गरेको बताए।

बजेट असन्तुलित भएको भन्दै एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले सार्वजनिक मञ्चमा र उपाध्यक्षसमेत रहेका संसदीय दलका उपनेता राजेन्द्र पाण्डेले रोस्ट्रमबाटै विरोध गरेका थिए।

उपनेता पाण्डेले बजेटको विपक्षमा मतदान गर्ने बताउँदै आएको थिए।

‘पार्टीले कारबाही गरे गरोस् तर, यथास्थितिमा बजेटलाई समर्थन गर्न सकिँदैन,’ पाण्डेले भनेका थिए।

बजेट मन्त्रीमुखि भएको उनको आरोप थियो।

प्रधानमन्त्री प्रचण्ड र अर्थमन्त्री प्रकाशशरण महतसँग एकीकृत समाजवादीका अध्यक्ष नेपालले छलफल गरेपछि बजेटको पक्षमा मतदान गर्ने निर्णय भएको बताइएको छ।

प्रतिनिधिसभाको बैठकमा विनियोजन विधेयक २०८० निर्णयार्थ प्रस्तुत गर्ने कार्यसूची छ।

त्यसअघि प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालय, राष्ट्रिय आयोजना आयोग, राष्ट्रपति कार्यालय, उपराष्ट्रपति कार्यालयलगायतको विनियोजनमाथि उठेको प्रश्नको जवाफ दिनेछन्।

 

Tags: