post-slider post-slider

झापा र इलाममा २४ घण्टामा २०० मिलिमिटरभन्दा बढी वर्षा

Image
A A

काठमाडौं - शुक्रबार देशका अधिकांश स्थानमा ठूलो वर्षा भएको छ।

मौसम पूर्वानुमान महाशाखाको शुक्रबार साँझसम्मको अपडेटअनुसार पछिल्लो २४ घण्टामा झापाका चार ठाउँ र इलामको एक स्थानमा भारी वर्षा भएको छ।

महाशाखाका अनुसार झापास्थित चन्द्रगढी एयरपोर्टमा ३०१ मिलिमिटर, अनारमनी विर्तामोडमा २५२ मिलिमिटर, गौरादहमा २५०.४ र केचनामा २३४.४ मिलिमिटर वर्षा भएको छ। 

यस्तै, इलामको कन्काई मैनाचुलीमा २९८.६ मिलिमिटर वर्षा भएको छ। महाशाखाले आइतबारसम्म वर्षा हुने भन्दै सतर्कता अपनाउन आग्रह समेत गरेको छ।

राति गाडी चलाउन रोक

नारायणगढ-मुग्लिन सडकमा शुक्रबार रातिको समयमा गाडी चलाउन रोक लगाइएको छ।

बिहीबार रातिदेखि परिरहेको वर्षाका कारण रातिमा पहिरोको जोखिम हुने देखिएकोले  बेलुका ७ बजेदेखि बिहान ५ बजेसम्म जिल्ला सुरक्षा समितिले सवारी सञ्चालनमा रोक लगाएको हो।

यस राजमार्ग भएर गुड्ने सवारी साधनलाई नारायणगढतर्फ आँपटारी र मुग्लिनतर्फ मुग्लिन बजारमा रोकिने छ।

शुक्रबार बिहानदेखि परेको वर्षाका करण मुग्लिन काठमाडौँ सडक खण्डमा दर्जनभन्दा बढी स्थानमा स-साना पहिरो जाँदा सडक अवरुद्ध बनेको छ।

कुलेखानी ड्याम भरियो

मकवानपुरको कुलेखानी ड्याम करिब भरिएपछि तल्लो तटीय क्षेत्रमा बसोबास गर्ने बासिन्दाहरूले उच्च सतर्कता अपनाउन आग्रह गरिएको छ।

बाँधको सुरक्षालाई समेत मध्यनजर गरी ड्यामका ढोका खोल्नुपर्ने अवस्था सिर्जना हुनसक्ने देखिएकोले कुलेखानी बाँधदेखि तल सिस्नेरी हुँदै बाग्मती नदी किनाराका बस्तीहरूमा एक्कासी बाढी आउन सक्ने अवस्था देखिएको छ।

आयोजनाले कुलेखानीदेखि तलका तल्लो तटीय क्षेत्रमा बसोबास गर्ने बासिन्दाहरूले उच्च सतर्कता अपनाउनु हुन र प्रतिकार्यमा खटिने सुरक्षाकर्मीहरू एवम् स्वयंसेवकहरू समेत हाइ अलर्टमा बस्न अनुरोध गरको छ।

मकवानपुर जिल्ला विपद व्यवस्थापन समिति र सम्बन्धित पालिकाका स्थानीय विपद् व्यवस्थापन समितिहरूले समेत तदनरुप सुरक्षित स्थानको पूर्वतयारी गर्न समेत अनुरोध गरिएको छ।

त्यस्तै, इन्द्रसरोवर गाउँपालिकाले कुलेखानी आसपास घर भएका वडा नम्बर २ र ३ का स्थानीयलाई सुरक्षित स्थानमा बस्न र नदीको आसपास नजान आग्रह गरिएको छ। 

 

Tags: