सानेपा स्वास्थ्य संस्थामा सञ्चालित शिविरमा २७९ जना लाभान्वित
काठमाडौं । सानेपा स्वास्थ्य संस्था परिसर मा आज बिरामीको खचाखच थियो।
स्वास्थ्य संस्थाको छेउमा टेन्ट टाँगिएको थियो । टेन्टमा पनि मानिसहरुको चाप उस्तै थियो।
त्यहि भिडमा थिइन् विष्णु केसी। उनको टाउको र आँखा दुख्न थालेको एक महिना जति हुन लाग्यो।
घर नजिकैको सानेपा स्वास्थ्य संस्थामा आज बिशेषज्ञ सहितको टोलिले उपचार गराइरहेको जानकारी पाएपछि उनी आँखा जचाउन आएकी रहिछिन्।
उनलाई डाक्टरले चस्मा लगाउन सुझाएका रहेछन्।
उनी शिविरमा निशुल्क सेवा पाएर फुरुङ्ग देखिन्थिन्।
‘पैसा लिएको छैन, निशुल्क उपचार भयो,’ उनले भनिन्, ‘धेरै सजिलो भयो।’
उमेरले ८० दशक टेक्न लाग्दा पनि तन्दुरुस्त छिन्। उनको रक्तचाप कहिलेकाही बढ्छ। असजिलो महसुस हुने बित्तिकै संस्थामा धाइहाल्ने उनले बताइन्।
‘हाम्रो आफ्नै टोल भयो। केहि भए यहि आउँछु,’ उनले भनिन्।
विष्णु के सी जस्तै सानेपा ४८ बर्षिय नरेन्द्र महर्जन पनि शिविरमा आँखाको समस्या लिएर आइपुगेका थिए ।
उनीलाई बिहान उठेर पत्रपत्रिका पढ्न र आफुलाई मन परेको पुस्तक पढ्न समस्या भइरहेको थियो। शिविर आएको मौकामा उनले आँखा जचाए। शिविरमा अन्य सेवा पनि दिइएको जानकारी पाएपछि उनले अरु परिक्षण पनि गराएका रहेछन्।
‘टाढाको भिजन देख्छु, नजिकको पढ्न गाह्रो हुन्छ । चस्मा लगाउनुपर्ने हुन्छ। त्यहि भएर एक्सरसाइज गरेर हुन्छ की बुझ्न आएको,’ उनले भने, ‘मैले लगाएको चस्मा ठिक छ की छैन त्यो पनि चेकअप गराऊँ भनेर आए।’
उनले यहाँ भन्दा अघि देखि नै चस्मा लगाउँदै आएका रहेछन्। पछिल्लो समय चस्मा लगाउँदा पनि टाउको दुख्न थालेपछि चस्मा लिएर नै शिविरमा देखाउन आएका रहेछन्।
शिविरमा अन्य परिक्षण पनि हुने थाहा पाएपछि उनले सजक भएर अन्य परिक्षण पनि गराएका रहेछन्।
‘उमेर बढ्दै जाँदा केहि होला कि भन्ने लागेर छाती पनि परिक्षण गराए,’ उनले भने, सचेत त हुनुपर्यो नी । रोग लागेर उपचार गर्नु भन्दा लाग्न नदिनु राम्रो नि । त्यो भएर केहि नभएनी चेकअप चाहि गराए।’
उपचार गराउन नसक्ने अवस्था भएका बिरामीका लागी निशुल्क स्वास्थ्य शिविर सञ्चालन हुँदा फाइदा पुगेको उनले बताए ।
सानेपा स्वास्थ्य संस्थामा सञ्चालित उक्त शिविरमा आज महर्जन र केसीले जस्तै २७९ जनाले सेवा लिएको सानेपा स्वास्थ्य संस्थाकी सहअध्यक्ष रानी राज गुरुङ कक्षपतिले जानकारी दिइन्।
उनका अनुसार शिविरमा १२ जना विशेषज्ञ चिकित्सक तथा १६ नर्सका साथै नर्सिङ कलेजका विद्यार्थी, स्थानिय व्यक्ति एवम् संस्थाका सदस्यहरुले सेवा प्रदान गरेका हुन्।
शिविरमा निःशुल्क चिकित्सक सेवा तथा उपलब्ध औषधी निःशुल्क वितरण गरिएको उनले जानकारी दिइन् ।
संस्थाका सचिव सजीव केसीका अनुसार शिविरमा स्त्री रोग, बाल रोग, नाक कान घाँटी, आँखा, छाला रोग, हड्डी तथा नशा रोग, इसिजी, फोक्सो परिक्षण, हेमोग्लोबिन , सुगर, युरिक एसिड लगायतको परिक्षणको सुविधा थियो ।
उक्त शिविर सानेपा स्वास्थ्य संस्था र सानेपा स्वास्थ्य संस्थाको आयोजनामा सञ्चालन भएको हो । शिविरमा प्राविधिक सहयोग लाइफलाइन हेल्थ होम केयर प्रालिले गरेको हो।
संस्थाले प्रसुती, हाड, नशा, बालबालिका, नाक, कान, घाँटी तथा आँखा रोगको विशेष सेवाका लागी सम्बन्धित संस्थासँग सहकार्य गर्ने संस्थालाई सिफारिस गरि आवश्यक परिक्षण दिशा, पिसाब, रगत एंव अन्य सेवा समेत सुलभ रुपमा उपलब्ध गर्ने व्यवस्था मिलाएको उनले जानकारी दिए।
यस सानेपा स्वास्थ्य संस्थाले यस्ता विशेष स्वास्थ्य शिविर बाहेक हरेक दिन विहान ८ बजे देखि १० बजे सम्म दैनिक रुपमा निःशुल्क सेवा विगत ३५ वर्ष देखि पुयाउदै आइरहेको छ ।
संस्थाले अन्य जिल्लामा समेत अनेक पटक स्वास्थ्य शिविर संचालन गर्दै आइरहेको छ । संस्थाले हातसम्म करिब छ लाख बिरामीलाई सेवा दिएको सहअध्यक्ष रानीले बताइन्।
यस संस्थाको सञ्चालनमा स्थानिय दाता एंव संस्थाहरुमा आर्थिक, औषधी एवं अन्य चिकित्सकीय उपकरणको नियमित दानबाट उपलब्ध गराउदै आइरहेको छ। भने आफ्नो विषयका स्थानीयका विशेषज्ञ चिकित्सकहरुले निःशुल्क जाँच लगायतका परोपकारी सेवा दिदै आएका छन्।
निकट भविष्यमा शुभ गुरुङ तथा संस्थाका पूर्व अध्यक्ष श्याम सुन्दर लाल कक्षपतिले स्थापना गरेका शुभ फाउण्डेशनको पहल तथा सहयोगमा सुलभ मुल्यमा औषधी पसल सञ्चालन गर्ने योजना रहेको उनले जानकारी दिइन्।
संस्थाले निरन्तर सेवा दिनमा स्थानिय समाजसेवी, चिकित्सक, अन्नदाता स्वयंसेवी, स्थानिय निकाय वडा नं २ तथा पाटन चिकित्सा विज्ञान, नर्सिङ कलेज तथा स्टार नर्सिङ कलेजको योगदान रहेको उनले बताइन्।