post-slider post-slider

पाकिस्तानको राजनीतिक र्‍यालीमा हमला : मृतकको संख्या ४४ पुग्यो

Image
A A

काठमाडौं- पाकिस्तानमा एक इस्लामिक राजनीतिक दलले आयोजना गरेको ¥यालीमा भएको विस्फोटमा परेर कम्तीमा ४४ जनाको मृत्यु भएको छ।

जमियत उलेमा–ए–इस्लाम–फज्ल (जेयुआई–एफ) को बैठक बसिरहेको उत्तर–पश्चिम बाजौर जिल्लामा भएको विस्फोटमा सयभन्दा बढी मानिस घाइते भएका छन्।

प्रहरीले दिएको जानकारीअनुसार विस्फोट आत्मघाती आक्रमण भएको प्रमाण फेला परेको छ।

अधिकारीहरूका अनुसार उद्धार कार्य पूरा भएको छ र सबै घाइतेलाई अस्पताल लगिएको छ।

अधिकारीहरूले १५ जना घाइतेहरूको अवस्था गम्भीर रहेकाले मृतकको संख्या अझै बढ्न सक्ने बताएका छन्।

आक्रमणको कारण भने खुल्न सकेको छैन। सुरक्षाकर्मीले उक्त क्षेत्रलाई घेराबन्दी गरेका छन् र विस्फोटको सम्बन्धमा थप अनुसन्धान भइरहेको जनाइएको छ।

अफगानिस्तानसँग सीमा जोडिएको खैबर पख्तनुख्वा प्रान्तको पाकिस्तानी आदिवासी जिल्ला बाजौरको खार सहरमा आइतबार आयोजित जेयुआई–एफ कार्यकर्ताहरूको सम्मेलनमा सयौं मानिस उपस्थित थिए।

सार्वजनिक भएका तस्बिरहरूमा कार्यक्रम स्थलको मञ्च नजिकै विस्फोट हुँदा सयौं मानिस पालको तल जम्मा भएको देखिन्छ।

एक प्रत्यक्षदर्शीका अनुसार उक्त पाल ढल्दा त्यहाँबाट भाग्न खोजिरहेका मानिसहरू थिचिएका थिए।

स्थानीय टिभीमा प्रसारित सामग्रीहरूमा घाइतेहरूलाई एम्बुलेन्समार्फत अस्पताल पु¥याइरहेको देख्न सकिन्छ।

गम्भीर घाइते भएकाहरूलाई भने उपचारका लागि सेनाको हेलिकप्टरमार्फत तत्काल नजिकैको पेशावर लगिएको प्रहरीले जनाएको छ।

अधिकारीहरूले जिल्लाको सरकारी अस्पतालमा स्वास्थ्य आपतकाल घोषणा गरेका छन्। त्यहाँ मानिसहरूको घुइँचो छ र कतिपय घाइतेहरूले उपचार प्राप्त गर्न नसकिरहेका विवरण आएका छन्।

विस्फोटमा जेयुआई–एफका क्षेत्रीय नेता मौलाना जियाउल्लाहको मृत्यु भएको बताइएको छ।

जेयुआई–एफ एक प्रमुख धार्मिक राजनीतिक दल हो र यो पार्टी पाकिस्तानको सत्ताधारी गठबन्धनमा छ।

पाकिस्तानका प्रधानमन्त्री शहबाज सरिफले आतंकवादमा संलग्नहरूले इस्लाम, कुरान र पाकिस्तानका लागि बोल्नेहरूलाई निशाना बनाएको आरोप लगाएका छन्।

उनले आतंक मचाउनेहरूले वास्तविक सजाय भोग्नुपर्ने बताए।

‘आतंकवादीहरू पाकिस्तानका दुश्मन भएका र तिनलाई पराजित गरेरै छाड्ने’ प्रधानमन्त्री सरिफले विज्ञप्ति जारी गरेर भनेका छन्।

अहिलेसम्म कुनै पनि समूहले आक्रमणको जिम्मेवारी लिएको छैन। यद्यपि पाकिस्तानमा इस्लामिक स्टेट समूह (आइएस) को स्थानीय शाखाले यस वर्ष बाजौरमा भएका कैयौं आक्रमणहरूमा आफ्नो संलग्नता रहेको दाबी गर्दै आएको छ।

उसले यसअघि जेयुआई–एफलाई निशाना बनाएको बताएको थियो।

गत जुन महिनामा ती लडाकहरूले इनायत किल्ली गाउँका एक पार्टीका अधिकारीको हत्यमा आफ्नो संलग्नता रहेको बताएका थिए।

पाकिस्तानमा गत केही महिनामा आतंकवादी गतिविधि बढेको छ। 

यो वर्षको सुरूमा खैबर पख्तुनख्वाको राजधानी पेशावरमा एक मस्जिदलाई निशाना बनाएर आत्मघाती आक्रमण भएको थियो। त्यसमा कैयौंले ज्यान गुमाएका थिए।

 

Tags: