post-slider post-slider

हुम्लामा निधि : ‘सीमा अतिक्रमण भएको आँखाले देख्यौं, जनकपुर र कैलाशलाई जोडौं’

Image
A A

काठमाडौं- ‘२०८० असोज २७ गते बिहान हामी हुम्लाको लाप्चामा। कैलाश र मानसरोवरको दूर दर्शन गर्‍यौं। ४० जनाको हाम्रो टोलीमा माननीय जीवन शाहीले सीमा अतिक्रमणबारे बताउँदै। अतिक्रमण हामीले आँखाले देख्यौं।

कर्णाली प्रदेसको हुम्लामा एक साता बिताएका नेपाली कांग्रेसका पूर्वउपसभापति एवं पूर्वउपप्रधानमन्त्री विमलेन्द्र निधिले बुधबार सामाजिक सञ्जाल ट्विटरमा व्यक्त गरेका धारणा हो यो।

नेपाली सीमा क्षेत्रबाट खिचिएको भिडियोमा कर्णालीका पूर्वमुख्यमन्त्री जीवनबहादुर शाहीले चीनका तर्फबाट सीमा अतिक्रमण भएको नेता निधिलाई सुनाइरहेका छन्।

नेपालको लालुम्जोङ क्षेत्रमा सीमा अतिक्रमण गरेर चिनियाँ सुरक्षाकर्मीका लागि घरहरू बनेको शाहीले बताएका छन्।

हुम्ला भ्रमणका क्रममा निधिले प्रमुख जिल्ला अधिकारी, सीमा सुरक्षामा खटिएका प्रहरी अधिकृत र अन्य सरकारी अधिकारीहरूसँग सीमा विवादबारे छलफल गरेका थिए।

चीनले पिलर नम्बर ९(२) को फलामे बारको घेरा र गेट बनाएको भन्दै त्यो बनाउन नमिल्ने निधिले बताएका छन्।

ट्विटरमा तस्बिरहरू राख्दै उनले भनेका छन्,‘तस्बिर आफैं बोल्छ। पहिलो र दोस्रो फोटो पिलर नम्बर ९(२) को हो। त्यसैमाथि चीनले फलामे बारको घेरा र गेट बनाएको छ। त्यो बनाउन पाइँदैन। तेस्रो फोटो त्यसै प्रवेशद्वारकै फुल भ्यू हो। चौथो चीनको सुरक्षा, अध्यागमन, भन्सार आदिको भव्य संरचना हो। हाम्रो त केही छैन। असोज २९ गते बिहान हामी त्यहीँ थियौं।’

हिल्साको सीमा क्षेत्रमा चीनको तर्फबाट नेपाली भूमिमा लगाइएको तारबार हटाएर सीमासम्बन्धी विवादलाई कूटनीतिक माध्यमबाट समाधान गर्न सरकार लाग्नुपर्ने निधिसँगको भेटमा स्थानीय अधिकारीहरूको भनाइ थियो।

ट्विटरमा निधिले अर्को भिडियो पोस्ट गर्दै भनेका छन्,‘२०८० असोज २९ गते बिहान हामी हुम्लाको हिल्सा बोर्डरमा। माननीय जीवन शाहीले नेपाल साइडको गेट र चिनियाँ गेटको बीचको सडकको भागलाई पिच बनाउन जुम्लामा रहेको सम्बन्धित इन्जिनियरसँग कुरा गर्दै। निर्माण काम पनि तत्कालै सुरू भइरहेको भिडियो। जय होस्।’

कांग्रेस नेता शाहीले यसअघि पनि चीनले नेपाली भूभाग अतिक्रमण गरेको दाबी गरेका थिए।

२०७७ सालमा शाहीसहितको स्थलगत अनुमगन टोलीले हुम्लाको १२ नम्बर सीमा स्तम्भ वरिपरी रहेको लोलुङजोङ्ग भन्ने स्थानमा चीनले निर्माण गरेको संरचना नेपाली भूभागमा पर्ने बताएको थियो।

चीनबाट नेपाली भूभाग अतिक्रमण भएको त्यो बेला कांग्रेसले निष्कर्ष निकालेको थियो।

२४ असोजमा हुम्लाको सिमिकोट पुगेका पूर्वगृहमन्त्रीसमेत रहेका निधि कात्तिक १ मा काठमाडौं फर्किएका थिए। उनले २७ असोजमा कैलाश र मनसरोवरको दूरदर्शन गरेका थिए।

हुम्ला पुगेर फर्किएका निधिले सीमा अतिक्रमणबारे मात्रै नभएर हुम्ला र गृहनगर जनकपुरधामबीच पर्यटकीय सम्बन्धलाई अगाडि बढाउनुपर्नेमा समेत जोड दिएका छन्।

अहिले चीनको सीमामा रहेको कैलाश र मानसरोवर नेपालकै भूमिबाट दर्शन गर्न पाइने भएकोले यसलाई जनकपुरधामसँग जोड्नुपर्नेमा निधिको भनाइ छ।

‘जनकपुर मधेस प्रदेसका मानिसहरू धार्मिक कार्यका लागि धेरै ठाउँ जानुहुन्छ। तर, कैलाशको दर्शन गर्न जानु हुँदैन। कैलाश र मानसरोबरको दर्शन हुम्लाको लाप्चाबाटै गर्न सकिन्छ,’ निधि भन्छन्,‘कैलाशसम्म पुग्ने प्राचिन मार्ग लाप्चा नै हो। जनकपुर र कैलाशलाई जोड्न मेरो आग्रह छ।’

जनकपुरधामका वासिन्दाले सीताको भूमिलाई कैलाश–मानसरोवरसम्म जोड्न भूमिका खेल्नुपर्ने उनको भनाइ छ।

कैलाशसम्म पुग्न हिल्सा र लाप्चा नाका रहेको बताउँदै उनले त्यसका लागि नेपालीका लागि मात्रै नभएर भारतीयका लागि पनि अन एराइभल भिसाको व्यवस्था गर्न सरकारलाई ध्यानाकर्षण गराएका छन्।

‘कैलाशसम्म पुग्ने पहिले धार्मिक र प्राकृतिक माग नेपालबाटै थियो,’ उनी भन्छन्,‘जनकपुर–कैलाश–मानसरोवर जोड्न केन्द्र र प्रदेस सरकार सक्रिय हुनुपर्दछ। पर्यटन व्यवसायीका तर्फबाट पनि पहल जरूरी छ।’

 

 

Tags: