post-slider post-slider

तनावकाबीच भारतीय विदेशमन्त्री जयशंकरले क्यानडासँग मागे हत्याको घटनाबारे सूचना

Image
A A

काठमाडौं ।

भारतका विदेशमन्त्री एस जयशंकरले क्यानडामा सिख पृथकतावादी नेताको हत्यको विषयमा क्यानडा सरकारले उपलब्ध गराउने कुनै पनि निश्चित जानकारीबारे अनुसन्धान गर्न आफ्नो देश तयार रहेको बताएका छन्।

भारतीय विदेशमन्त्री जयशंकरले संयुक्त राष्ट्रसंघको महासभाका बेला अलग्गै बसेको एउटा बैठकमा बोल्ने क्रममा त्यस्तो भनेका हुन्।

गत जुन महिनामा खिस पृथकतावादी नेता हरदीप सिंह निज्जरको क्यानडामा हत्या भएको थियो। क्यानडाका प्रधानमन्त्रीले निज्जरको हत्यामा भारतको संलग्नता भएको सार्वजनिक रूपमा आरोप लगाएका थिए।

क्यानडाले यो घटनामा भारतीय राज्यको संलग्ताबारे ‘विश्वासिला आरोप’ को आफूले अध्ययन गरिरहेको बताएपछि दुई देशबीचको तनाव चर्किएको छ।

भारतले क्यानडाको दाबीलाई ‘उदेकलाग्दो’ भन्दै खारेज गरेको थियो।

भारत सरकारले क्यानडालाई जुनसुकै ‘सान्दर्भिक’ आरोपबारे अनुसन्धान गर्न आफूहरू खुला रहेको भनेको जयशंकरले बताए।

तर, उनले उक्त हत्यामा प्रकरणमा भारतको भूमिका नरहेकोमा जोड दिए।

मंगलबार संयुक्त राष्ट्रसंघीय महासभालाई सम्बोधन गर्नुअघि न्युयोर्कमा आयोजित एक कार्यक्रममा बोल्दै जयशंकरले भने,‘पहिलो, हामीले क्यानडेलीहरूलाई यस्तो (गैरन्यायिक हत्या) भारत सरकारको नीति नरहेको भनेका छौं। दोस्रा, त्यसो भनिरहेका क्यानडेलीहरूलाई उनीहरूसँग केही निश्चित, केही सान्दर्भिक जानकारीहरू छन् भने त्यसबारे हामीलाई पनि जानकारी दिनुस्–हामी त्यसबारेमा सोधखोज गर्नका लागि तयार छौं।’

निज्जरको गत जुन १८ मा क्यानडाको ब्रिटिस कोलम्बियास्थित एक सिख मन्दिरबाहिर गोली हानी हत्या भएको थियो।

भारतले यसअघि उनलाई एक पृथकतावादी लडाकु समूहको नेतृत्व गरेको भन्दै आतंककारीको संज्ञा दिएको थियो।

उनका समर्थकहरू ती आरोपलाई ‘आधारहीन’ मान्छन्।

भारत सरकारले पश्चिमा राष्ट्रमा स्वतन्त्र सिख राज्य खालिस्तान स्थापनाको मागलाई कडा रूपमा प्रतिक्रिया जनाउने गरेको छ।

भारतमा खालिस्तान आन्दोलन सन् १९८० को दशकमा सिख बाहुल पञ्जाब राज्यमा हिंसात्मक विद्रोहका साथ उत्कर्षमा पुगेको थियो।

जसलाई बलपूर्वक नियन्त्रण गरिएपछि अहिले भारतमा यसको प्रभाव कम छ।

तर, सिखहरूको उल्लेख्य बसोबास रहेका क्यानडा, अस्ट्रेलिया र बेलायतजस्ता देशमा त्यो अझै चर्चित छ।

यसैबीच भारतीय विदेशमन्त्री जयशंकरले क्यानडालाई भारतले देशबाहिर रहेर काम गर्ने पृथकतावादी ‘संगठित अपराध र नेतृत्वबारे कैयौं’ सूचना दिएको जनाएका छन्।

‘सन्दर्भविनाको परिदृष्य अपूर्ण हुन्छ,’ उनले भने,‘तपाईंलाई के पनि मान्नुपर्छ भने पछिल्ला केही वर्षमा क्यानडाले पृथकतावादी शक्तिहरूसँग सम्बन्धित कैयौं संगठित अपराध, हिंसा, अतिवाद देखेको छ, ती निकै जेलिएका छन्। ठूलो संख्यमा सुपुर्दगीका अनुरोधहरू भएका छन्। त्यहाँ पहिचान गरिएका आतंकवादी नेताहरू छन्।’

यस महिनाको सुरूमा प्रधानमन्त्री जस्टि टु«डोले क्यानडाका गुप्तचर निकायहरूले निज्जरको हत्यामा ‘भारत सरकारका एजेन्टहरू’ को संलग्नताबारे अनुसन्धान गरिरहेको बताएपछि दुई देशबीचको विवाद सतहमा देखा परेको थियो।

Tags: