post-slider post-slider

धनगढी उपमहानगरले पठायो १९० जनालाई तीर्थयात्रा

Image
A A

धनगढी- धनगढी उप महानगरपालिकाले नगरका एक सय ९० जना वृद्ध, वृद्धा तथा भगतलाई मुक्तिनाथ मन्दिरको दर्शनका लागि सात दिने तीर्थयात्रामा पठाएको छ। 

वृद्धा अवस्थामा नागरिकलाई धार्मिक क्षेत्रको भ्रमण गर्ने इच्छा हुने भएपछि आर्थिक अभावका कारण आफ्ना चाहना पुरा गर्न नसकेका जेष्ठ नागरिकलाई छनौट गरी सात दिने धार्मिक यात्रामा पठाइएको धनगढी उपमहानगरपालिकाका नगर प्रमुख गोपाल हमालले बताए। 

उनका अनुसार तीर्थयात्रामा जानका लागि पाँच वटा बस लगाइएका छन्। सवै बसमा एक जना स्वास्थ्यकर्मी र एक जना उपमहानगरपालिकाका कर्मचारी रहनेछन्। ‘भौतिक विकास गर्नुमात्रै परिवर्तन हैन, स्थानीय सरकार जन्मदेखि मृत्युसम्म सँगै भएको महशुस नागरिकले गर्न सकेमात्रै परिवर्तन हुन्छ,’ नगर प्रमुख हमालले भने, ‘त्यसै अनुसार हामी नागरिकका हरेक कृयाकलापमा जोडिने प्रयास पनि गरिरहेका छौं।’

सुत्केरी व्यथा लाग्दा नि:शुल्क एम्बुलेन्स उपलब्ध गराउने दाहसंस्कारमा विपन्न बर्गलाई पाँच हजारसम्म क्रिया खर्च र नि:शुल्क सवारी साधन उपलब्ध गराउने काम धनगढी उप महानगरले गर्दै आएको नगर प्रमुख हमालले बताए।

आर्थिक अभावका कारण रोग लकाउनु पर्ने बाध्यताको अन्त्यका लगि वडा स्तरमै विशेषज्ञ डाक्टरसहितको वडा क्लिनिकको व्यवस्था गरिएको उनले बताए। घरमा आउने सर्प नियन्त्रणका लासिग नगर प्रहरीलाई तालिम दिएर १२ घण्टा घरघरमा पुग्ने व्यवस्था गरेको नगर प्रमुख हमालले बताए।

उनका अनुसार जेष्ठ नागरिकलाई निजी अस्पतालमा पनि नि:शुल्क स्वास्थ्य चेकजाँचको व्यवस्था गरिएको छ। वर्षा याममा नागरिक डुवानमा परे नगर प्रहरीलाई तत्काल खट्न सक्ने गरी तालिम र उद्धार सामग्रीको व्यवस्था गरिएको नगर प्रमुख हमालले बताए।

‘यी सवै काम जनतासँग प्रत्यक्ष जोडिएका हुन्छन्,’ नगर प्रमुख हमालले भने, ‘हामी नागरिकका हरेक काममा जोडिन तयार छौं, समस्या पर्दा छिमेकिलाई भन्दा पहिला नगर प्रहरीलाई जानकारी गराउनुहोस्, तत्काल तपाईका अगाडी हाजिर हुने छौं।’

धनगढी उप महानगरपालिका कार्यालय खुल्नेदिन बिहान १० बजेदेखि बेलुकी ५ बजेसम्म मात्रै सञ्चालन हन्छ भन्ने बुझाई नै गलत भएको बताउँदै हमालले भने, ‘सरकार ८ घण्टाका लागि मात्र हुँदैन, २४ घण्टा नागरिकको सुरक्षामा काम गर्न तल्लिन हुनुपर्छ अहिले उप महानगर २४ घण्टा नै नागरिक सँग छ।’

Tags: