post-slider post-slider

ढुकुटीमा राखियो सुन, मुख्य योजनाकारलाई खोज्दै राजस्व अनुसन्धान विभाग

Image
A A

काठमाडौं- त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट भन्सार छलेर ल्याइएको सय किलो सुन परीक्षणका लागि टक्सार महाशाखामा ल्याइएको छ।

स्कुटर र मोटरसाइकल ‘ब्रेक सु’ को नामबाट ल्याइएको सुन बरामद भएपछि परीक्षणका लागि बबरमहलस्थित राष्ट्र बैंकको मुद्रा व्यवस्थापन विभागअन्तर्गतको टक्सार महाशाखामा ल्याइएको हो।

बरामद भएको सुन जाँच एवं परीक्षणका लागि राजस्व अनुसन्धान विभागले टक्सार विभागमा ल्याएको हो।

टक्सार विभागमा पु¥याइएको सुन मुचुल्का उठाएर ढुकुटीमा राखिएको छ। राजस्व अनुसन्धान विभागको टोलीले टक्सार महाशाखालाई जिम्मा लगाएको सुन ढुकुटीमा राखिएको हो।

राजस्व अनुसन्धान विभागको टोलीले विशेष सूचनाको आधारमा मंगलबार साँझ त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको कार्गोबाट ट्याक्सीमाफर्त बाहिरिएको सुन मूल सडकमा बरामद गरेको थियो।

सुन बरामदपछि अनुसन्धानका क्रममा पाँच जना पक्राउ परेका छन्। सुन भित्र्याउने मुख्य योजनाकारको भने खोजी भइरहेको छ।

एक अर्बभन्दा बढी रूपैयाँ मूल्य बराबरको सुन नेपाल भित्रिन लागेको सूचना राजस्व अनुसन्धान विभागलाई १० दिनअघि प्राप्त भएको थियो।

त्यही सूचनाको आधारमा विभागले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल र आसपास क्षेत्रमा गोप्य ‘अपरेसन’ गरेको थियो।

विभागका महानिर्देशक नवराज ढुंगाना गोप्य ढंगबाट ‘अपरेसन’ गर्नुपर्ने भएकाले यसबारे विमानस्थल प्रशासन, सुरक्षा निकाय र विमानस्थल भन्सार कार्यालयलाई समेत जानकारी नगराइएको बताएका छन्।

सूचना चुहिने आशंकामा अरू निकायलाई जानकारी नगराइएको उनको भनाइ छ।

ढुंगानाका अनुसार यो अपरेसनबारे प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई पूर्वजानकारी गराइएको र उनले अघि बढ्न निर्देशन दिएका थिए।

हालसम्म बरामद भएको भनिएको सबैभन्दा ठूलो परिणामको सुन मंगलबारको क्याथे फ्यासिफिक उडानमार्फत काठमाडौं आएको थियो।

मोटरसाइकल र स्कुटरको ‘ब्रेक सु’ भित्र लुकाएर ल्याएको सुन बुधबार अपराह्न २ बजे भन्सार जाँच पास भएर कटेको थियो।

रेडी ट्रेडलिंक बूढानीलकण्ठका नाममा हङकङबाट यो सुन ल्याइएको थियो।

विमानस्थल भन्सार कार्यालयका प्रमुख भन्सार प्रशासक अरुण पोखरेल अहिले विदामा छन्। उनको अनुपस्थितिमा भन्सारको जिम्मेवारी नारद गौतमले सम्हालेका छन्। 

 

Tags: