post-slider post-slider

नागरिकता ऐनसम्बन्धी मुद्दाको सुनुवाइ हुँदै

Image
A A

काठमाडौं- नागरिकता विधेयक प्रमाणीकरणविरूद्धको मुद्दाको सुनुवाई बिहीबार हुँदैछ।

राष्ट्रपति रामचन्द्र पौडेलले नागरिकता विधेयक प्रमाणीकरणविरूद्ध दायर रिटमाथि सुनुवाइ हुन लागेको हो।

यो मुद्दा सर्वोच्च अदालतका न्यायाधीश आनन्दमोहन भट्टराई र कुमार रेग्मीको इजलासमा पेसी परेको छ। भट्टराई र रेग्मीको संयुक्त इजलासमा पहिलो नम्बरमै यो मुद्दाको पेसी रहेको छ।

यसअघि रिटमाथि सुनुवाइ गर्दै नागरिकता ऐन तत्काल कार्यान्वयन नगर्न सर्वोच्च अदालतले अल्पकालीन अन्तरिम आदेश जारी गरेको थियो।

अन्तरिम आदेश जारी गर्ने वा नगर्ने विषयमा छलफलका लागि दुवै पक्षलाई बोलाउन पेसी चढे पनि पटक–पटक सर्दै आएको छ।

वरिष्ठ अधिवक्ता सुरेन्द्र भण्डारी बालकृष्ण न्यौपानेसहितले दायर गरेको रिटमा सुनुवाइ भएमा अन्तरिम आदेशको बारेमा टुंगो लाग्नेछ।

सर्वोच्चले अन्तरिम आदेश जारी गरेमा अन्तिम फैसला नहुँदासम्म नागरिकता ऐन कार्यान्वयनमा रोक लाग्नेछ।

सर्वोच्चले यसअघि जारी भएको अल्पकालीन अन्तरिम आदेश खारेज गरेमा ऐन कार्यान्वयनको बाटो खुल्नेछ।

राष्ट्रपति पौडेलले अघिल्लो संसदले पारित गरेको नागरिकता विधेयक प्रमाणीकरण गरेपछि वरिष्ठ अधिवक्ता भण्डारीलगायतले ऐन कार्यान्वयन नगर्न माग गर्दै सर्वोच्चमा रिट दायर गरेका थिए।

राष्ट्रपतिबाट विधेयक प्रमाणीकरण भइसकेर पनि नागरिकता ऐन कार्यान्वयनमा नआएको भन्दै नागरिकताविहीनहरूले पछिल्लो २० दिनदेखि माइतीघर मण्डलामा प्रदर्शन गर्दै आइरहेका छन्।

नागरिकताविहीनहरूलाई तत्काल नागरिकता प्रदान गर्न बाटो खोल्न माग गर्दै माओवादी केन्द्रका नेता रामकुमार शर्मा पछिल्लो सात दिनदेखि सत्याग्रहमा बसेका छन्।

१ असारदेखि माइतीघर मण्डलामा सत्याग्रहमा बसेका शर्माको स्वास्थ्य अवस्था बिग्रिएपछि उनलाई वीर अस्पतालमा भर्ना गरिएको छ।

उनी अस्पतालमा पनि सत्याग्रहमा रहेको जनाएका छन्।

 

Tags: