post-slider post-slider

संघीय संसदबाट नेम्वाङको निधनमा शोक प्रस्ताव पारित

Image
A A

काठमाडौं- संघीय संसदको दुवै सदनबाट संविधानसभा अध्यक्ष, पूर्वसभामुख तथा वर्तमान प्रतिनिधिसभा सदस्य सुवासचन्द्र नेम्वाङको निधनप्रति शोक प्रस्ताव पारित गरेको छ।

बिहीबार बसेको प्रतिनिधिसभा र राष्ट्रियसभा बैठकले नेम्वाङको निधनप्रति शोक प्रस्ताव पारित गरेको हो।

प्रतिनिधिसभा बैठकमा सभामुख देवराज घिमिरेले निर्णयार्थ प्रस्तुत गरेको शोक प्रस्ताव सर्वसम्मत पारित भएको हो।

‘बीसको दशकयताका लोकतन्त्र र गणतन्त्रका लागि भएका हरेक आन्दोलनहरूमा सक्रिय र प्रभावकारी भूमिका निर्वाह गर्नुभएका, संविधानसभामार्फत नेपालको संविधान निर्माण गर्न अहम् र नेतृत्वदायी भूमिका खेल्नुभएका मृदुभाषी, सरल, सहज र समन्वयकारी व्यक्तित्वका धनी सुवासचन्द्र नेम्वाङको अप्रत्याशित निधनबाट मुलुकलाई अपूर्णीय क्षति पुगेको छ,’ शोक प्रस्तावमा उल्लेख छ।

त्यस्तै राष्ट्रियसभा बैठकले पनि नेम्वाङको निधनमा शोक प्रस्ताव पारित गरेको छ।

बिहीबार बसेको राष्ट्रियसभा बैठकले नेम्वाङको निधनको शोक प्रसताव सर्वसम्मतिले पारित गरेको हो।

बैठकमा राष्ट्रियसभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले संविधानसभा अध्यक्ष, पूर्वसभामुख एवं वर्तमान प्रतिनिधिसभा सदस्य सुवासचन्द्र नेम्वाङको निधन भएकोमा राष्ट्रियसभाको बैठकले गहिरो शोक प्रकट गरेको बताएका थिए।

नेम्वाङको सोमबार राति हृदयघातका कारण निधन भएको थियो। बिहीबार पशुपति आर्यघाटमा उनको राष्ट्रिय सम्मानका साथ अन्त्येष्टि गरिएको छ।

 

Tags: