प्रतिनिधिसभा बैठक एक घण्टाका लागि स्थगित
काठमाडौं- विपक्षी दलहरूका अवरोध कारण प्रतिनिधिसभाको बैठक स्थगित भएको छ।
नागरिकता विधेयक प्रमाणीकरणको विरोध गर्दै नेकपा एमाले, राष्ट्रिय स्वतन्त्र पार्टी र राप्रपालगायतका दलले अवरोध गरेपछि सभामुख देवराज घिमिरेले एक घण्टाका लागि बैठक स्थगित गरेका हुन्।
आइतबार संसदको बैठक सुरू भएलगत्तै प्रतिपक्षी दलका सांसदहरू आफ्नो स्थानमा उभिएका थिए।
सभामुख घिमिरेले समय दिएपछि एमाले प्रमुख सचेतक पदम गिरी, रास्वपाका प्रमुख सचेतक सन्तोष परियार र राप्रपा अध्यक्ष लिङ्गदेनले नागरिकता विधेयक प्रमाणीकरण प्रक्रिया गलत भएको भन्दै विरोध गरे।
नागरिकता विधेयक पुनः संसदमा ल्याएर छलफल गर्नुपर्ने उनीहरूको भनाइ थियो।
सभामुख घिमिरेले यथास्थानमा बसेर बैठक सञ्चालनका लागि सहयो गर्न आग्रह गर्दा पनि प्रतिपक्षी दलका सांसदलहरूले बैठकमा नाराबाजी गरेका थिए।
त्यसपछि सभामुख घिमिरेले एक घण्टाका लागि बैठक स्थगित भएको जानकारी गराए।
राष्ट्रपति पौडेलले १७ जेठमा नागरिकता विधेयक प्रमाणीकरण गरेका थिए। संसदको दुवै सदनले दुईपटक पारित गरेर पठाएको विधेयक तत्कालीन राष्ट्रपति विद्यादेवी भण्डारीले ‘होल्ड’ गरेकी थिइन्।
मन्त्रिपरिषद बैठकले नागरिकता विधेयक प्रमाणीकरण गर्न आग्रहसहितको पत्र १२ जेठमा राष्ट्रपति कार्यालय पठाएपछि राष्ट्रपति पौडेलले विधेयक प्रमाणीकरण गरेका थिए।