post-slider post-slider

मिथिलाञ्चलमा जितिया पर्वको रौनक

Image
A A

जनकपुरधाम- ‘धियापुताके ठोकि सुतओलन्हि अपने खएलन्हि भरि थारी, जितिया पावनि बड भाडी।'

जितिया पर्वको सन्दर्भमा मैथिलीको चर्चित भनाइ हो, यो। जितिया ब्रत सुरु हुनुभन्दा एक दिनपूर्व तराई–मधेशमा जितिया पर्वबारे बोलिने चर्चित भनाइको रूपमा लिइन्छ यसलाई।

अर्थात घरका स–साना नानीहरुलाई सुताएर आफू पेटभर खाने। 

ब्रतालुले थुकपनि निल्न नहुने मान्यता र विश्वास रहेकोले जितियालाई कठिन पर्व भनिएको हो।

जितिया ब्रतगर्ने महिलाहरू ब्रतअवधिभर पानीसमेत नखाएर निराहार बस्नु पर्दछ। 

छोराछोरीका साथै परिवारका सदस्यहरुको दिर्घायू, स्वास्थ्यलाभ, सुखशान्तिको कामना गरी मनाइने जितिया पर्व बिहीबारदेखि विधिवत रूपमा सुरू भएको छ।

जितिया पर्वको रौनक भने केही दिनअघिबाटै मिथिलाञ्चलमा सुरू भइसकेको हुन्छ।

जितिया पर्वको अवसरमा एकअर्कालाई शुभकामना दिन विभित्र संघसंस्थाहरुले सांस्कृतिक कार्यक्रममार्फत नाचगान गरेर रमाउने गर्दछन्।

विवाहिता महिलाहरुले बुधबार बिहानै जलासय पुगेर पूजाअर्चना गर्दै ब्रत सुरू गरेका छन्।

हरेक खाले विपदा तथा दुःख कष्टबाट जोगिन र परिवार एवं सन्तानको रक्षार्थ महिलाहरू जितिया मनाउने गर्दछन् ।

घटस्थापना भन्दा करिब डेढ साताअघि असोज कृष्ण अष्टमीदेखि तीन दिनसम्म जितिया मनाउने गरिन्छ।

यसपालि बिहीबारदेखि सुरू भएको जितिया पर्वमा ब्रतालु महिलाहरू शुक्रबार निराहार ब्रत बस्नेछन्। पानीसमेत नखाइ उनीहरू शनिबार बिहान ११ बजेपछि मात्रै ब्रत तोड्ने ब्रतालुहरूले बताएकी छन्।

यस पर्वमा सन्तान तथा पतिको सुखसमृद्धिका लागि स्याल, बाज र मृत श्रेष्ठजनको पुजा गर्ने परम्परा रहेको छ।

यस पर्वको पहिलो दिन ब्रतालु ‘नहाय खाए’ अर्थात नुहाई धोआई गरेर शुद्ध भइ खाने गर्दछन्।

नहाय खाय ब्रतका दिन ब्रतालु महिलाहरु नदी, पोखरी तथा जलासयमा स्नान गरी घिरौलाको पातमा पिना, तेल, सिन्दुरलगायतका सामग्री सूर्यपुत्र शालिवाहनका छोरा जितवाहनलाई चढाउने गर्दछन्।

यस पर्वमा ब्रतालु महिलाहरुले ‘नहाय खाय’ का दिन माछा र कोदोको रोटी खाने परम्परा रहेको छ।

पर्वको दोस्रोदिन देखि ब्रतालुहरु २४ घण्टा लामो निराहार उपवास बस्ने गर्दछन्।

ब्रत बसेका महिलाहरु एकै स्थानमा जम्मा भइ भगवान जितवाहनको कथा सुन्ने परम्परासमेत रहेको छ।

जितिया ब्रत बसेका महिलाहरुले थुकसमेत निल्न नहुने मान्यता रहेको छ। ब्रतालु महिलाले थुक निले ब्रत नै टुंगिने विश्वास रहेको छ। 

बिहीबार राति खाना खाइसकेपछि ब्रतालु महिलाहरुले शुक्रबार रातदिन पानीसमेत नखाएर निराहार बस्ने छिन्। 

पर्वको अन्तिम दिन शनिबार ब्रतालु महिलाहरु पुनः नदी, पोखरी र जलासयमा स्नान गरेर चिउरा, दही तथा सखरको प्रसाद बनाएर अर्घ दिइसकेपछि जितिया ब्रत समाप्त हुनेछ।

 

Tags: