post-slider post-slider

सुन तस्करी प्रकरणमा को-को पक्राउ परे?

Image
A A

काठमाडौं- राजस्व अनुसन्धान विभागले झण्डै एक सय किलो सुन बरामद प्रकरणमा हालसम्म ६ जनालाई पक्राउ गरेको छ। उक्त प्रकरणमा मुछिएका व्यक्तिहरूको खोजी गर्ने क्रममा अहिलेसम्म ६ जना पक्राउ परेका हुन्।

एयरपोर्ट भन्सार गेटबाट सुन बोकेको बा. २ ज २३२४ नम्बरको ट्याक्सीलाई बुधबार साँझ ६ बजे नियन्त्रणमा लिइएको विभागका महानिर्देशक नवराज ढुङ्गानाले बताए।

सुन ओसारपसारमा संलग्न आरोपमा दोलखा मेलुङ गाउँपालिका-३ घर भई हाल काठमाडौं स्वयम्भू बस्ने ५३ वर्षीय रामकुमार भुजेल, मेलुङ-३ घर भई हाल काठमाडौं साँखु बस्ने २१ वर्षका दीलिप भुजेल, भोजपुर अरुण गाउँपालिका-४ भई हाल बूढानीलकण्ठ बस्ने ४९ वर्षीय हर्कराज राई र भारत घर भई हाल काठमाडौं पानीपोखरी बस्ने भारतीय नागरिक वर्ष ५३ थाप्तेन छिरिङलाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ। अन्य दुई जनाको भने नाम खुल्न सकेको छैन।

आयातकर्ता कम्पनी रेडी ट्रेडर्सले उक्त सुन मोटरसाइकल र स्कुटरको पार्टसमा हालेर कार्गो गरी ल्याएको बताइएको छ। भन्सार जाँचपास भएर बाहिरिएको झण्डै एक क्वीन्टल  सुन राजस्व अनुसन्धान विभागको टोलीले बरामद गरेको थियो। ठूलो परिमाणको सुन भन्सारबाट सहजै छुटेको विषयमा पनि जाँचपासमा संलग्न कर्मचारीमाथि अनुसन्धान सुरू भएको भन्सार विभागले जनाएको छ।

सुन तस्करीलाई साथ दिएको आशंकामा त्रिभुवन विमानस्थल भन्सार कार्यालयका भन्सार अधिकृत सन्तोष चन्दसमेत निलम्बित भइसकेका छन्। भन्सारका अन्य एक जना सुब्बा पनि निगरानीमा रहेको स्रोतको भनाई छ।

नेपालमा एकै पटक यति धेरै सुन बरामद भएको यो पहिलो घटना हो।

Tags: