post-slider post-slider

कोशीका सभामुखलाई राजीनामा दिन दबाब, कसरी गठन होला नयाँ सरकार?

Image
A A

तस्बिर : सभामुख बाबुराम गौतम

काठमाडौं- कोशी प्रदेश सभाका सभामुख बाबुराम गौतममाथि राजीनामा दिन चर्को दबाब परेको छ। आज अपरान्ह ५ बजेसम्म प्रदेश प्रमुख परशुराम खापुङ्गले सरकार गठनको दाबी पेस गर्न समय सीमा तोकेका छन्। 

सरकार गठनका लागि दाबी पेस गर्न सभामुख गौतमलाई राजीनामा गराए ९३ सदस्यीय प्रदेश सभाको बहुमत संख्या ४७ पुर्‍याउने सत्ता गठबन्धनको तयारी रहेकाले सभामुखलाई राजीनामा गराउन दबाब दिइएको हो।

राप्रपासँगको वार्ता नतिजाउन्मुख नभएपछि गठबन्धनले सभामुखलाई राजीनामा गराउन लागेको जनाइएको छ। तर, सभामुखको राजीनामा समाधान नभएको भन्दै माओवादी केन्द्र कोशी प्रदेश संसदीय दलका अधिकांश सदस्यहरूले विरोध जनाउँदै आएका छन्। 

सभामुख गौतमले गठबन्धन दलका नेताहरूलाई राष्ट्रिय प्रजातन्त्र पार्टीसँग पनि सहकार्य गरेर कोशी प्रदेशमा राजनीतिक स्थिरताको सुनिश्चित गर्नुपर्नेमा सुझाव दिएका थिए। उनले सोमबार प्रधानमन्त्री एवं माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालसहितका सत्ता गठबन्धनका नेताहरूबीच बालुवाटारमै भएको छलफलमा आफूले राजीनामा दिइहाल्नु पर्ने अवस्था नरहेको भन्दै जवाफ दिएका थिए। 

नेपाली कांग्रेसले कोशी प्रदेशमा सरकारको नेतृत्व गर्ने यसअघि नै सहमति भएको भन्दै उक्त सहमति कार्यान्वयनका लागि गठबन्धनको भावना अनुसार नै सभामुखले राजीनामा दिनुपर्ने भन्दै दबाब दिँदै आएको छ। 

सर्वोच्चको फैसलापछि माओवादी केन्द्रभित्र सभामुखलाई पुनः राजीनामा गराउने विषयमा विवाद चर्किएको छ। सभामुखलाई राजीनामा गराएर संविधानको मर्ममाथि झन ठूलो प्रहार गर्न खोजेको भन्दै माओवादी केन्द्रका प्रदेश सभामा सदस्यहरूले खुलेरै नेतृत्वको आलोचना गरेका छन्।

गठबन्धन दलले कोशी प्रदेशको मुख्यमन्त्रीमा नेपाली कांग्रेस संसदीय दलका नेता उद्धव थापालाई नै पुनः मुख्यमन्त्री बनाउने निर्णयको नजिक रहेको जनाइएको छ। तर माओवादी केन्द्र संसदीय दलका नेता इन्द्रबहादुर आङ्बोले भने प्रदेश सभामा विश्वासको मत लिन सक्ने र राप्रपाले पनि स्वीकार गर्न सक्ने व्यक्तिलाई गठबन्धनबाट मुख्यमन्त्रीको उम्मेदवार बनाउनु पर्ने भन्दै आफ्ना लागि लविङ गरिरहेका छन्।

Tags: