post-slider post-slider

ट्रम्पको अदालती सुनुवाइ प्रत्यक्ष प्रसारण हुने

Image
A A

काठमाडौं- एटलान्टाको फुल्टन काउन्टीका एक न्यायाधीशले पूर्वअमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्प र उनीसँगै अभियोग लागेका अन्य १८ जनाको अदालती कारबाही टेलिभिजनमा प्रत्यक्ष प्रसारण गरिने बताएका छन्।

मुद्दाको सुनुवाइ युट्युटमा ‘लाइभ स्ट्रिम’ पनि हुने फुल्टन काउन्टी सुपिरियर कोर्टका न्यायाधीश स्कट म्याकफीले घोषणा गरेका छन्।

सन् २०२० को राष्ट्रपतीय निर्वाचनमा जर्जिया राज्यमा भएको चुनावी धोखाधडी र आफ्ना प्रतिद्वन्द्वी जो बाइडेनलाई हराउन ट्रम्पसहित १९ जनाले षडयन्त्र गरेको अभियोगको सुनुवाइ प्रत्यक्ष प्रसार गर्ने घोषणा भएको हो।

बिहीबार दायर गरिएको अदालतको कागजातमा पूर्वराष्ट्रपति ट्रम्पले आरोपहरूको प्रकृति र अदालतमा उपस्थित हुने आफ्नो अधिकारलाई पूर्णरूपमा बुझेको बताएका छन्।

यद्यपि उनले आफू दोषी नभएको दाबी गर्दै आफूविरूद्ध लगाइएको मुद्दा राजनीतिक रूपमा प्रेरित भएको दाबी गरेका छन्।

गत साता उनले फुल्टन काउन्टी जेलमा आत्मसमर्पण गरेका थिए।

अर्बपति व्यवसायी ट्रम्पमाथि गत अप्रिलदेखि चारपटक आपराधिक रूपमा अभियोग लगाइएको छ। तर, उनले आगामी वर्ष हुने राष्ट्रपति निर्वाचनमा भाग लिने दृढ निश्चयका साथ अघि बढेका छन्।

जर्जियामा उनीमाथि जालसाजी गरेको, सरकारी अधिकारीलाई झुटा बयान दिन अभिप्रेरित गरेकोलगायत चारवटा मुद्दा दायर भएको छ।

यसअघि पूर्वराष्ट्रपति ट्रम्पमाथि वयस्क चलचित्रकी नायिका स्टोर्मी डेनियलसँगको यौन सम्बन्ध, त्यसलाई सार्वजनिक नगर्न निजलाई भुक्तान गरिएको ठूलो रकम, आफ्नो निजी निवासमा गोप्य सरकारी कागजात राखेको र ती कागतपत्र सरकारलाई फिर्ता गर्न अस्वीकार गरेको तथा संसद भवनमा समर्थक परिचालन गरेर तोडफोड र आक्रमण गराएको अभियोग लगाइएको छ।

 सन् २०२० को जनवरी ६ तारिखमा अमेरिकी संसद क्यापिटल हिलमा भएको हुलदङ्गा एवं आक्रमणमा सात जनाको मृत्यु हुनुका साथै संसद, महानगर र स्थानीय सुरक्षा निकायका १५० जना सुरक्षाकर्मी घाइते भएका थिए।

त्यहाँ ट्रम्पले परिचालन गरेको भिडले अन्धाधुन्ध आक्रमण गरेको आरोप छ।

 

Tags: