post-slider post-slider

एनआरएनएका अध्यक्ष केसीले मागे सुरक्षा

Image
A A

काठमाडौं- गैरआवासीय नेपाली संघ (एनआरएनए) को अध्यक्षमा पराजित राजेन्द्रकुमार शर्माविरूद्ध प्रहरीमा उजुरी परेको छ।

एनआरएनएको बालुवाटारस्थित कार्यालयभित्र प्रवेश गरेर हुलदङ्गा गरेको भन्दै नवनिर्वाचित अध्यक्ष डा. बद्री केसीले सुरक्षाको माग गर्दै शर्मालगायतका व्यक्तिविरूद्ध प्रहरीमा उजुरी दिएका हुन्।

अध्यक्ष केसीले सुरक्षाको माग गर्दै शर्मासहित बुद्धिसागर सुवेदी, गंगाधार गौतम, ठाकुरप्रसाद ढुङ्गाना, ओम शर्मालगायतका विरूद्ध दरबारमार्ग प्रहरी वृत्तमा उजुरी दिएका हुन्।

एनआरएनएको अध्यक्षका उपविजेता शर्मालगायतका व्यक्तिहरू अनधिकृत रूपमा संघको कार्यालयमा प्रवेश गरी पूर्वमन्त्री महेश बस्नेतलाई गालीगलोच गरी हुलदङ्गा गरेको अध्यक्ष केसीले आरोप लगाएका छन्।

‘...कुनै जानकारी नै नदिइ गैरकानुनी र अनधिकृतरूपमा संघको कार्यालयमा प्रवेश गरी पूर्वमन्त्री महेश बस्नेतलाई गाली गलोच गरी अनुमतिविना फोटो खिच्ने, व्यक्तिगत चरित्र, आचरण, नैतिकता र ख्यातिलाई होच्याइ चरित्र हत्या गर्ने र संघको कार्यालयमा हुलदङ्गा गर्ने कार्य गरेको हुँदा निजहरू र निजहरूसँग उपस्थित भइ पहिचान हुन नसकेका व्यक्तिहरूलाई कारबाही गरी पाउँ,’ उजुरीमा भनिएको छ।

अध्यक्ष केसीले हुलदङ्गामा सामेल व्यक्तिहरूको पहिचानका लागि संघ र नजिकै रहेको राष्ट्र बैंकको सिसिटिभ फुटेज अनुसन्धान गर्न प्रहरीसँग अनुरोध गरेका छन्।

यो घटनामा संलग्न व्यक्तिहरूलाई कारबाही नगरे उनीहरूले संघका पदाधिकारीहरूको जिउ ज्यानको जोखिमका साथै संघको कार्यालयमा क्षति पु¥याउने सम्भावना रहेको केसीले बताएका छन्।

‘निजहरूलाई कुनै कारबाही नभए संघका पदाधिकारीहरूको जिउ ज्यान र सम्पत्ति एवं संघको सम्पत्तिको तोडफोड र हानी नोक्सानी पु¥याउने प्रवल सम्भावना भएको हुँदा जीउ, ज्यान र सम्पत्तिको शान्ति सुरक्षाउपरको कसुर, अभद्र व्यवहारको कसुर र व्यक्तिक गोपनीयता तथा प्रतिष्ठाविरूद्धको कसुरउपर कारबाही गरी पाउँ,’ उजुरीमा भनिएको छ।

मंगलबार एनआरएनएको कार्यालयमा नवनिर्वाचित अध्यक्ष केसीलाई पूर्वमन्त्री बस्नेत बधाइ दिन गएका बेला शर्मासहित उनका समर्थकहरूले अवरोध गरेको केसी पक्षले बताएको छ।

शर्माका समर्थकहरूले अवरोध गरेपछि दुवै पक्षबीच विवाद भएको थियो। कार्यालयको हलमा कार्यक्रम भइरहेको बेला पराजित पक्ष पुगेपछि विवाद भएको थियो।

यता, शर्मालाई युवा संघका कार्यकर्ताले दुव्र्यवहार गरेको पराजित पक्षले आरोप लगाएको छ।

 

Tags: