कोसीका मुख्यमन्त्री थापाले लिए सपथ
काठमाडौं- कोसी प्रदेसका नवनियुक्त मुख्यमन्त्री उद्धव थापाले पद तथा गोपनीयताको सपथ लिएका छन्।
थापालाई प्रदेस प्रमुख पर्शुराम खापुङले शुक्रबार पद तथा गोपनीयताको सपथ दिलाएका हुन्।
थापाले तीन सदस्यीय मन्त्रिपरिषद गठन गरेका छन्।
पहिलो चरणमा नेकपा (एकीकृत समाजवादी) का कमल जबेगु र नेपाली कांग्रेसका प्रदीप सुनुवार मन्त्री नियुक्त भएका छन्।
जबेगु र सुनुवारले पनि आजै सपथग्रहण गरेका छन्।
माओवादी केन्द्रले भने सरकारमा मन्त्री पठाएको छैन। मन्त्री छनोटका लागि छलफल भइरहेको माओवादीले जनाएको छ।
प्रदेससभाबाट विश्वासको मत प्राप्त गरिसकेपछि मन्त्रिपरिषद विस्तार गर्ने मुख्यमन्त्री थापाको तयारी छ।
कांग्रेस कोसी प्रदेस संसदीय दलका नेतासमेत रहेका थापा कांग्रेसका २९, सभामुखसहित माओवादी केन्द्रका १३, एकीकृत समाजवादीका ४ र जसपाका १ सांसदको समर्थनमा बिहीबार मुख्यमन्त्री नियुक्त भएका हुन्।
सभामुख बाबुराम गौतमले समेत थापालाई मुख्यमन्त्री बनाउन दाबीपत्रमा हस्ताक्षर गरेपछि प्रमुख प्रतिपक्षी दल नेकपा एमाल र राप्रपाले आपत्ति जनाएको छ।
सभामुख तटस्थ हुने भएकाले सरकार निर्माण प्रक्रियामा भाग लिन नपाउने विपक्षी दलहरूको तर्क छ।
गठबन्धनले भने सभामुख पनि प्रदेससभा सदस्य भएकाले सरकार निर्माण प्रक्रियामा सहभागी हुन पाउने बताइरहेको छ।